एमसीसी नेपालले नै प्रस्ताव गरेको परियोजना हो, यसबारे हामी सकारात्मक हुनुपर्छ : गृहमन्त्री खाण

कोल्हवी न्यूज
२०७८ पुष ११, आईतवार ०६:३५ गते

गृहमन्त्री बालकृष्ण खाणले एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारे सबै नेपालीले सकारात्मक हुनुपर्ने बताउनुभएको छ । गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमसीसीका बारेमा सत्तागठबन्धनका दलहरुबीच साझा धारणा बनाउन पहल भैरहेको जानकारी दिनुभयो । संसदबाट उक्त प्रस्ताव पास गर्नुपर्नेमा पनि उहाँको जोड छ ।उहाँले एमसीसी प्रस्ताव संसदमा पेस गर्नका लागि साइत हेरिरहनु नपर्ने पनि बताउनुभयो ।

‘एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो, यसमा हामी सबै नेपाली सकारात्मक रहनुपर्दछ, यो कुनै सैन्य गठबन्धन होइन’, गृहमन्त्री खाणले भन्नुभयो, ‘नेपालमा खास गरेर विद्युत् प्रशारण लाइन, सडक निर्माण, गरीबी निवारण र रोजगारी वृद्धिका लागि नेपाल सरकारले नै यो परियोजना प्रस्ताव गरेको हो । यो सम्झौतालाई सदनबाट पास गर्ने प्रावधान नेपालले राख्यो । त्यही अन्तर्गतनै यो संसदबाट पास हुनुपर्दछ र टुंगो लाग्नु पर्छ ।’

यस्तै फरक प्रसंगमा मन्त्री खाणले निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा स्थानीय तहको चुनाव गराउनेबारे सरकारले छलफल थालेको पनि बताउनुभयो । सबै तहको निर्वाचन एकै चरणमा पर्ने गरि आयोगले प्रस्ताव गरेमा सुरक्षा लगायतका व्यवस्थापनका काममा सरकार सक्षम रहेको उहाँको भनाइ छ । गृहमन्त्री खाण गोरखा उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारणसभा र १६ औं अधिवेशनको उद्घाटन गर्न गोरखा आउनुभएको हो । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*