फागुन २७ मा नीता र विल्सनको ‘आकासे खेती’

उदय सुब्बाको निर्देशनमा बनेको फिल्म ‘आकासे खेती’ को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आउँदो फागुन २७ गतेलाई प्रदर्शन मिति तोक्दै बिहीवार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा फिल्मका कलाकारहरु गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ ।
युवाहरुको विना मेहनत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषय बनेको फिल्ममा रमा लिब्बु र जयनन्द लामाको पनि मुख्य भूमिका छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक सुब्बाको हो । एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको संवाद विल्सन विक्रमले लेखेका हुन् ।
फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत रहेको छ । फिल्मलाई युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरेको निर्देशक सुब्बाले जानकारी दिएका छन् । यो फिल्मलाई जिजिए ग्रुपले उपत्यका भित्र र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।









