मकवानपुरमा श्रीमानद्वारा कुटिएकी महिलाको मृत्यु, आरोपी नियन्त्रणमा
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित तरकारी मण्डी क्षेत्रमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–३ घर भई हाल चौकिटोलमा डेरा गरी बस्दै आएका अन्दाजी ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेलमाथि कुटपिट गरेका थिए । घटनामा गम्भीर घाइते भएकी भुजेललाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो ।
प्रहरीका अनुसार आज बिहान करिब १०ः३० बजे घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी चौकिटोलबाट टोली खटिएको थियो । उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले भुजेललाई मृत घोषणा गरेका हुन् ।
मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा निलडाम चोट देखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर मा राखेर थप अनुसन्धान अघि बढाएको छ ।








