सगरमाथा चुम्ने पहिलो ट्रान्स महिला बनिन् निलम पौडेल
नेपालकी ट्रान्स महिला निलम पौडेल सफल सगरमाथा आरोहणपछि काठमाडौं फर्किएकी छिन् । गत शनिवार उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै इतिहास रचेकी हुन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बनेकी छन् ।
मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा उनलाई ब्लु डाइमन्ड सोसाइटी की अध्यक्ष पिंकी गुरुङ लगायतले स्वागत गरेका थिए ।
पत्रकारहरूसँग कुरा गर्दै पौडेलले ट्रान्स समुदायका लागि यो उपलब्धि प्रेरणादायी बनेको बताइन् । उनले भनिन्, “मैले हाम्रो सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा आफ्नो परिचय बनाउन सफल भएकी छु । यसले समुदायका अन्य सदस्यहरूलाई पनि नयाँ हौसला दिने विश्वास लिएकी छु ।”
उनले आफ्नो आरोहणलाई वर्षौँदेखि भोग्दै आएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयका रूपमा व्याख्या गरिन् ।








