मकवानपुर फास्ट ट्र्याकमा दुर्घटना, कामदारको उपचारकै क्रममा मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार स्थित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको सुरुङ निर्माणस्थलमा काम गर्ने क्रममा भएको दुर्घटनामा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
गएराति करिब ९ः४५ बजे सुरुङभित्र काम गरिरहेका बेला प्रयोग हुने रिपिट तथा ढुङ्गा खसेर लाग्दा बर्दियाका ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए । साथै थाहा नगरपालिका–५ सानोपाखा निवासी अन्दाजी २२ वर्षीय सन्तोष बम्जनको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुवै घाइतेलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो । उपचारकै क्रममा चौधरीको राति ११ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ । घाइते बम्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली अनुसन्धानका लागि घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगन बाट करिब ११ किलोमिटर उत्तर क्षेत्रमा पर्ने बताइएको छ । प्रहरीले मृतकको शव हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।








