पूर्वी तराईमा आज गंगादशहरा पर्व मनाइँदै

कोल्हवी न्यूज
२०८३ जेष्ठ १२, मंगलवार १५:२३ गते

जनकपुर । गंगादशहरा पर्वका अवसरमा आज पूर्वी तराईका हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ पूजा–आराधना गरेका छन् । विशेषगरी जनकपुरधाम सहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा यो पर्व उल्लासपूर्वक मनाइँदैछ ।

गंगादशहराको अवसरमा जनकपुरधामस्थित गंगासागर पोखरी, दशरथ तलाउ तथा भारतका विभिन्न गंगाघाटमा भक्तजनहरूले स्नान तथा पूजा गरेका छन् । धार्मिक मान्यताअनुसार आजकै दिन माता गंगा पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।

यो पर्वमा १० वटा फूल, १० वटा दियो, १० प्रकारका फलफूल तथा नैवेद्य चढाएर पूजा गर्ने परम्परा रहेको छ । हिन्दू धर्मग्रन्थअनुसार राजा सगरका ६० हजार पुत्रहरूको उद्धारका लागि राजा भागीरथले कठोर तपस्या गरेपछि माता गंगा पृथ्वीमा अवतरित भएकी थिइन् ।

धार्मिक कथाअनुसार गंगाको तीव्र वेगलाई नियन्त्रण गर्न भगवान शिवले उनलाई आफ्नो जटामा धारण गरेका थिए । त्यसपछि मात्र गंगा पृथ्वीमा बग्न थालेकी हुन् । गंगाको स्पर्शबाट सगरका पुत्रहरूले मोक्ष प्राप्त गरेको धार्मिक विश्वास छ ।

जानकी मन्दिर का छोटे महन्त राम रोशन दास का अनुसार आज नदी, पोखरी तथा तलाउमा स्नान गर्दा दस प्रकारका पाप नाश हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । उनले जनकपुरधामको गंगासागर र दशरथ तलाउमा स्नान गर्नु विशेष पुण्यदायी मानिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*