परिवर्तनका एक संवाहक

कोल्हवी न्यूज
२०७८ पुष ८, बिहीबार ०७:३९

                    रञ्जिता दङ्गाल

जीवनका कहानी अनि जीवनका ती सङ्घर्शशील मान्छे र उसको व्यवहारसँगै तुलना हुने गर्छ । त्यसै जीवनलाई अमूल्य ठानी मूल्यवान् बनाउन खोज्नु नै सङ्घर्ष हो अर्थात् आफूले गरेको प्रयास । जिउन जान्नेलाई जीवन एउटा रहस्यको खोला हो भने नजान्नेलाई उही माटो, ढुङ्गा सरह हजाराँै चोट खाएर सफलता प्राप्त गर्न नसक्नु पनि एक हो । जीवन सङ्घर्षमय हुँदा हुँदै पनि जितको अनुभव गर्नु गौरवको कुरा हो । ती अथाह सङ्घर्षरत् कहानीहरुमध्ये चन्द्रमणि रिमालको कहानी अझ फरक छ ।
वि.सं. २०४० साल कार्तिक ३० गते पिता रामप्रसाद रिमाल र माता सरस्वती रिमालका छोरीका आशमा कान्छा सुपत्रका रुपमा बारा जिल्लाको कोल्हवी–१ ख्रैरामा रिमालको जन्म भयो । बाल्यकाल भने उनको रमाइलो र अभाव मुक्त नै थियो । अभावको भूमरीमा त्यति धेरै रुमलिएर झेल्न र खेल्न परेन उनलाई । सानोमा अरु बोर्डिङको पोशाकमा विद्यालय गएको देख्दा उनलाई पनि त्यसै गरी जाने इच्छा जाग्यो । अन्ततः कोल्हवी जाने बाटोमा लडिबुडी गरेपछि उनको सपनाले साकार पायो । कक्ष ६ भन्दा बढी नभएको गेलर्ड बोर्डिङबाट निस्केर भरतपुरस्थित प्रेमबस्ती स्कुलमा कक्ष ८ मा भर्ना भए । त्यहाँको पढाइले एक वर्षमै बिट मा¥यो । अन्तमा ९ र १० कक्षा अध्ययनका लागि आफ्नै गाउँ फर्किए उनी । वि.सं. २०५७ मा उनले एलएलसी तेस्रो श्रेणीमा श्री अनुप दीपनी माध्यमिक विद्यालयबाट गरेका थिए । उमेर नै त्यस्तै, बेला नै त्यस्तो भनौ खासै जाँगर लगाएर अध्ययनमा त्यति ध्यान जान सकेन उनको । उच्च शिक्षाका लागि अङ्ग्रेजी विषय लिएर काठमाडौँको रत्नराज्य लक्ष्मी क्यापसमा होमिएका रिमालले केही आर्थिक अभावले त केही डुलन्ते मनले आफ्नो पढाइलाई अधुरै छाड्नुप¥यो । पढाइलाई निरन्तरता दिन नसकेका रिमालले केही समय गाउँमा हल्लिएर बस्नु उनको बाध्यता नै भयो । पढाइ छाडेर ८–१० महिना गाउँमै बसेका उनलाई दाइले काठमाडौं गार्मेन्टमा काम गर्न बोलाए । दिनको ८० रुपैयाँका दरले काम गरेका उनले १ महिना पनि राम्रोसँग काम गर्ने अवसर पाएनन् ।
कहिले गाउँ त कहिले काठमाडौं धाइरहने उनलाई फेरि एउटा काम फेला प¥यो । मायोज चाउचाउको विज्ञापन टाँस्दै हिँड्ने । एक हातमा गमको बाल्टिन अनि एक हातमा पोस्टर उनकै दैनिकी नै थियो । उनी खाली ठाउँ देख्ने बित्तिकै पोस्टर टाँस्न निकै नै हौसिन्थे । पोस्टर टास्दै हिँड्ने उनको सुपरभाइजर खाजा खान जाँदा उनले सोचे कि, ‘यो सिंहदरबारको भित्तामा पोष्टर टाँसेँ भने म योभन्दा माथिल्लो पदमा पुग्न सक्छु ।’ अपसोच् काठमाडौ महानगरपालिकाको गाडी त्यही बेला उनलाई दुर्भाग्य बनेर आयो । लगेर कार्यालयभित्र राख्यो । अफिसको हाकिमले सोधे ‘किन जे पायो त्यही पोष्टर टाँस्दै हिँडेको, उनको सत्यतथ्य रुपमा जवाफ दिए । राति एउटा कोठामा ताल्चा लगाएर छाडिदिए । राति दाइले फोन गरेपछि रुँदै खाना खान पाइएन भन्दा पालेले उनलाई त्यहीकै मेसमा लगेर खाना खुवाए । रातभरिको लामखुट्टेसँग मित्रताले उनलाई बाँध्यो । बिहान ११ बजे उनले त्यहाँबाट छुट्कारा पाए ।
फेरि उनलाई काम गर्ने केही हिम्मत र आँट पनि नआएपछि गाउँको यात्रा नै रोजे । गाउँमा पनि कहिले फुटबल खेल्दा झगडा गर्थे त कहिले नाटक हेर्न जाँदा । गाउँले र घर परिवार वाक्क भएका थिए यस्ता खालका रिमालका हर्कतहरुले । फेरि जीवनलाई नयाँ मोड दिने हिसाबले उनको यात्रा भारतको वृन्दावन हानियो । मामासँगै संस्कृत पढ्छु भनी लागेका उनलाई कौमदी संस्कृति व्याकरणले रुवायो । कठिन अर्थात् पढ्न नसकेर पुनः घर फर्किने सोच बनाएका रिमाले आर्थिक अभावले घर फर्कन पाएनन् । भारतकै फरिदावादमा महामृत्युञ्जयको मन्त्र जप गरी आर्थिक जुटाए । जहाँ दैनिक ७० रुपैयाँको आम्दानीले उनलाई घर फर्कने सहास मिल्यो । अन्ततः ४० दिनपछि रेलमा भारतीयहरुको अपमान सहदै घर आइपुगे ।
गाउँमा फेरि त्यही कुरा, यसले पढ्दैन, गरी खाँदैन । यस्ता कुराले वाक्क भएका उनले जिन्दगीको महत्व बुझ्न जीवनका कालखण्डले नै पाठ पढाउँदै थियो । जीवनले नै आफूसँग परीक्षा लिँदै थियो । आफैँले आफैँलाई ठगेको भने झँै त्यो जिन्दगी चल्दै थियो । न केहीको महत्व, न केहीको आश भएको उनलाई फेरि काठमाडौं आउन मन लाग्यो अर्थात् कामको खोजीमा भौतारिन थाले । विभिन्न पत्रिकाहरुबाट विज्ञापन हेर्दै जागिरका लागि भौतारिएका उनले १३५ ठाउँसम्म फोन कल गर्दा पनि जागिर हातमा पर्न सकेन । प्रत्येक कार्यालयमा पहिलो प्रश्न नै हुन्थ्यो, हजुरको पढाइ कति ? के सिप जान्नुभएको छ ? एसएलसी पनि तेस्रो श्रेणीमा पास गरेका उनलाई भर्खरै महसुस भयो पढाइको महत्व, सिपको महत्व । भौतारिँदै त्यही गाउँका आफ्नो पाइला टेक्न पुगेका उनी आफ्नो मनलाई भुलाउन उनले ३–४ महिना ट्रकमा पनि काम गरे । ट्रकको टायर खोल्ने, त्रिपाल बाँध्ने कामले पनि उनलाई खासै सहायता दिन सकेन ।
मनमा रहेका विभिन्न नकरात्मक कुराहरुलाई थाती राखे । आफ्नो शिरलाई आमा र बुबाको खुट्टामा राखेर माफी माग्दै, आफ्ना गल्तीहरुको महसुस गरे । आमा र बुबासँग अब म मिहिनेत गरेर फेरि पढ्छु भन्दा खासै वास्ता नदिएका उनका बुबाले पछि आमाको जिद्दीले पुनः ११ कक्षा शिक्षा शास्त्रमा नेपाली विषय लिएर भर्ना हुने निधो गरे । दुनियाँको कुरा सुनेर पनि आफ्ना पाइलालाई विद्यालयतर्फ लम्काउन थाले । ४ वर्षपछि उनले फेरि उच्च शिक्षाको ढोका उघारे । दश जोड २ मा मुख्य विषय नेपाली लिएर पढेका उनको व्यवहार उही आधी उधो पहिलेको जस्तै थियो । बानी व्यवहार न हो समय अनुसार फेरि हाल्थ्यो । बानी लगाउन एकदम सहज छ तर हटाउन एकदम कठिन । परीक्षा हलमा उनले चमेनागृहबाट आफ्ना लागि चिया मगाउँदै परीक्षा दिने उनले क्यान्टिनको ढोकामा ‘जसले उधारो खायो, उसले जीवन सुधा¥यो’ भन्दै लेखेका थिए । आज पनि उनको अनुहार देख्दा अचम्म मान्छन् । १२ कक्षा पास पछि हेटौंडा क्याम्पसमा आएर बीएड अध्ययन गर्दै गर्दा उनले रिलायन्स अङ्ग्रेजी माध्यमिक विद्यालयमा जागिरको मौका पाए । ४ हजार तलबबाट सुरु गरेका उनले कमानेमा कोठा भाडा लिएर आफ्नो जागिर तथा पढाइलाई निरन्तरता दिन थाले । उनी आफ्नो जिम्मेवारीबाट कहिल्यै टाढा हटेनन् । करिब ७ वर्षको सिकाइबाट उनले धेरै पाठहरु सिके । सङ्घर्षहरुलाई पाठमा रुपान्तरण गर्दै हेटौँडाको नवोदय शिशु सदनमा सुरुका दिनमा निम्न माध्यमिक तहको नेपाली शिक्षका रुपमा कार्यरत रिमाल हाल ५ वर्षदेखि नवोदय शिशु सदनमा नेपाली विषयको सुपरिवेक्षकका रुपमा छन् । विद्यार्थीलाई नेपाली भाषा र साहित्यिको जगेर्नाका लागि हरतरहले लागी परेका छन् । सिक्ने र सिकाउने थलोको रुपमा नवोदयले उनलाई अगाडि बढाउँदै छ ।
प्रगतिशील लेखक सङ्घ मकवानपुरका उपाध्यक्ष भएका उनी हाल गजल मञ्च मकवानपुरका पनि उपाध्यक्ष नै छन् । संस्थागत विद्ययालय शिक्षक युनियन हेटौंडा नगर कार्य समितिका हाल अध्यक्षको रुपमा आवद्ध छन् भने उनले वि.सं. २०७२ मा बस्तीपुर जेसीजले आयोजना गरेको अन्तर जेसीस कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भए । त्यस्तै नवलपुरमा रहेको नवयुग क्लबले वि.सं. २०७६ मा आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका थिए । विभिन्न पत्रपत्रिकामा फुटकर कविता, कथा, लेख रचना प्रकाशन गरेका उनको छिट्टै नै कथा सङ्ग्रह आउने तयारी रहेको छ ।
हिजो खराब रिमाल भन्ने समाजले आज उनलाई केही मात्रामा सम्झने गरेको छ । थाकेका ती बुबाको आशाको दियो बल्ने क्रममै छ । जीवनले कुन मोडमा ल्याउँछ, कुन मोडमा पु¥याउँछ कसलाई थाहा छ र ? जीवनलाई उही पानीसँग तुलना गरेर हिँड्न सिक्नुपर्छ अर्थात् खोलासँग कहिल्यै केहीको अभाव हुँदैन । त्यसैले समयको महत्व बुझ्न सिक्नुपर्छ । समयको महत्व बुझ्दा नै केहीको अभाव हुन्छ त केहीको पश्चाताप । आफूले गरेका हरेक गल्तीलाई महसुस गर्दै सुधार्नु नै एक महान् व्यक्तिको परिचय हो । आफू सिकाइको अध्येता बन्दै समाजका लागि केही गर्ने दौडमा होमिएका छन् रिमाल अचेल ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*