वनको किसान राजधनेशः जैविक विविधताको अमूल्य गहना

कोल्हवी न्यूज
२०८२ जेष्ठ १५, बिहीबार १८:४३ गते

लेखक: कृष्ण प्रसाद थारु कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय हेटौंडा स्नातक तेस्रो बर्ष अध्ययनरत विद्यार्थी

विश्वभर ५४ प्रजातिका धनेश (Hornbills) मध्ये ३२ एशियामा पाइन्छन् । नेपालमा भने तीन प्रजातिका पाइन्छन्— राजधनेश (Great Hornbill), सानो धनेश (Indian Grey Hornbill), र कालो धनेश (Oriental Pied Hornbill)।

राजधनेश, जुन “वनको राजा” र “वनको किसान” भनेर चिनिन्छ, नेपालको एक सुन्दर तर संकटमा परेको पंक्षी हो । यसको वैज्ञानिक नाम Buceros bicornis हो। ९५–१०५ सेमी लामो शरीर, विशाल पहेँलो ढूँडमञ्जूषा (casque), र पहेँलो–सेतो पङ्ख, घाँटी, र पुच्छरसहितको आकृति यसलाई अन्य पंक्षीबाट अलग बनाउँछ।

पहिचानका विशेषता
राजधनेशको सबैभन्दा विशेष चिनारी भनेको यसको विशाल पहेँलो ठोंड र ठूलो ढूँडमञ्जूषा हो। कालो अनुहार पेटी, पहेँलो तेलले लेपिएको सेतो घाँटी र छाती स्पष्ट देखिन्छ। उड्दा यसको पंखमा देखिने चौडा सेतो पङ्खरेखी र कालो पृष्ठ पङ्खधार सजिलै देखिन्छ। घाँटी र छातीमा शृङ्गार ग्रन्थीबाट उत्पन्न पहेँलो तेलको लेप हुन्छ।
भालेः रातो उपनानी, कालो आँखीचक्र छाला, र ढूँडमञ्जूषाको अन्त्यमा कालो रङ।
पोथीः सानो आकार, सानो ठोंड, सेतो उपनानी र रातो आँखीचक्र छाला।
अल्पवयस्कः छ महिना नपुग्दासम्म ढूँडमञ्जूषा नदेखिने।

आवाज र व्यवहार
राजधनेशको आवाज गहिरो, वाक्वाकी गरेजस्तो हुन्छ, जो प्रायः छोटो शृङ्खलामा युगल जोडीले निकाल्ने गर्छ। उडानको बेला यसको “गर्–ओङ्ङ्क” जस्तो चर्को आवाज जंगलमा गुञ्जिन्छ। यो मुख्यतः वृक्षवासी भए पनि खाना खानका लागि भुईंमा झर्ने गर्छ।

आवास र वितरण
नेपालमा राजधनेश मुख्यतः तराई क्षेत्रका परिपक्व चौडापाते वनहरूमा पाइन्छ। चितवन, बर्दिया, नवलपरासीदेखि पूर्वी तराईसम्म यसको उपस्थिति देखिन्छ। यो प्रायः ७५–२५० मिटर (अधिकतम ५०० मि.) उचाइसम्म भेटिन्छ। राजधनेश नमीयुक्त सदाबहार जंगलमा विशेषगरी फलफूल पाइने रूखहरू भएको क्षेत्रमा बसोबास गर्छ।

आहार र भूमिका
राजधनेशको मुख्य आहार फलफूल हो, विशेषगरी अंजीर (Ficus spps, Dysoxylum binectariferum, Bombax ceiba) आदि। कहिलेकाहीं कीरा, साना सर्प, र साना जनावर पनि यसको आहारमा पर्छन्। बीउ फैलाउने क्षमताका कारण यसलाई “वनको किसान“ भनिन्छ, जसले वनस्पति पुनःउत्पादनमा योगदान पुयाउँछ।

प्रजनन र जीवनशैली
जनउरी देखि अप्रिल सम्म प्रजनन गर्ने यो प्रजातिमा मादा चराले रूखको खोला (गुँड) भित्र छिरेर आफैंलाई बन्द गर्छे। यस अवधिमा अण्डा कोर्छे र चल्लाहरू हुर्काउँछे। बाहिरको सारा जिम्मेवारी—खाना जुटाउनेदेखि मादा र बचेराको हेरचाहसम्म—भालेले निभाउँछ। राजधनेशको जोडी प्रायः जीवनभर एउटै रहन्छ, जुन पंक्षीहरूमा दुर्लभ स्वभाव मानिन्छ।

संकट र संरक्षण अवस्था
राजधनेश हाल IUCN को (Vulnerable) (जोखिम) सूचिमा रहेको छ। मुख्य संकटहरूमा आवास क्षेत्रको विनाश, वन कटानी, कृषियोग्य जमिनको विस्तार, अवैध सिकार र पर्यटकीय दबाब छन्। यसको चम्किलो ढूँडमञ्जूषा शिकारका लागि लक्षित हुने प्रमुख कारण हो ।
राजधनेशलाई CITES को Appendix I मा राखिएको छ, जसले यसको अन्तर्राष्ट्रिय व्यापार निषेध गर्दछ। नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित पन्छी घोषित गरिएको छ। यसलाई मार्दा वा क्षति पु¥याउँदाः
● रु १५,०००–३०,००० सम्म जरिवाना
● ३–९ महिना सम्म कैदवा दुवै सजाय हुन सक्छ ।

संरक्षणका उपायहरू
विशेषज्ञहरूका अनुसार, राजधनेशको दीर्घकालीन संरक्षणका लागिः
● फलफूल दिने परिपक्व रूखहरूको संरक्षण,
● स्थानीय समुदायमा संरक्षण चेतना विस्तार,
● घना वन क्षेत्रको रक्षा,
● दीर्घकालीन अनुसन्धान आवश्यक छ।
वन्यजन्तु विज्ञहरू भन्छन्, “राजधनेश केवल पंक्षी होइन, वन्य पारिस्थितिक तन्त्रको संरक्षक हो। यसको संरक्षणले सम्पूर्ण जंगल र जैविक विविधता जोगिन्छ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*