पर्सामा ऐनविपरीत गाउँपालिकाद्वारा ठेकेदारलाई ९० लाख भुक्तानी, रकम जफत गर्न बैंकलाई पत्राचार
पर्साको धोबिनी गाउँपालिकाले सार्वजनिक खरिद ऐनविपरीत एक निर्माण कम्पनीलाई भुक्तानी गरेको पाइएको छ । धोबिनी गाउँपालिका कार्यालयले बुद्ध/ड्रेगन-बस्नेत जेभी बानेश्वर काठमाण्डौलाई ऐनविपरीत ९० लाख रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।
गाउँपालिकाको वडा नम्बर २ भिखमपुरमा १० करोड रुपैयाँको लागतमा निर्माणाधिन १५ शय्याको अस्पताल निर्माण सक्नुअघि नै गाउँपालकाले ठेकेदार कम्पनीलाई मोबिलाइजेसनबापत ९० लाख रुपैयाँ भुक्तानी गरेको हो । अस्पताल निर्माणका लागि २०७८ जेठ १७ गते ठेकेदार कम्पनीसँग सम्झौता भएको गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले बताए । सुरुमा नियमानुसार नै असार २ गते ९० लाख भुक्तानी गरेपनि पुनः असार २४ गते गरिएको ९० लाख भुक्तानी भने ऐनविपरीत भएको पाइएको हो ।
सार्वजनिक खरिद ऐनमा स्वीकृत पेस्की रकमका आधारमा नबढ्ने गरी र बाँकी पेस्की निर्माण कार्य प्रगतीका आधारमा दिनुपर्ने उल्लेख भएपनि गाउँपालिकाले कार्यप्रगतीको बेवास्ता गरी दोस्रो पटक भुक्तानी गरेको हो । ३ महिनापछि सम्म पनि कार्य प्रथती नदेखिएपछि गाउँपालिका कार्यालयले बैंकलाई एड्भान्स पेमेन्ट ग्यारेन्टी रकमबाट आधा रकम जफत गर्न पत्राचार गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले कात्तिक १० गते पत्राचार गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंलाई आधा रकम जफत गरी गाउँपालिकाको खातामा जम्मा गरिदिन अनुरोध गरेका थिए । गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत अशोक रौनियारको कार्यकालमा ठेकेदार कम्पनीलाई ऐनविपरीत पेस्की दिइएको पाइएको हो । यात्राडेलीबाट