कोरिया सरकारको अनुदानबाट महोत्तरीमा १ अर्वको लगानीमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना हुँदै

प्रदेश नम्बर २ को महोत्तरी जिल्लामा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत कोरिया सरकारले नेपाललाई ८।६ मिलियन अमेरिकी डलर दिने भएको छ । नेपाली रुपैयाँमा यो रकम करिब एक अर्ब तीन करोड हुन्छ ।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारीअन्तर्गत पमहोत्तरीमा पोलीटेक्निक इन्स्टिच्यूट स्थापना हुनलागेको हो ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासनी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्र्क चोङ सुकले सो सझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त परियोजनापश्चात नेपाल र विश्वबजारमा माग हुने निर्माण क्षेत्रका दक्ष जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग मिल्नेछ । बढ्दो बेरोजगारी समस्या मुलुकको चुनौतीका रुपमा देखापरेको वर्तमान परिस्थितिमा पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले सीपयुक्त जनशक्तिको आवश्यकता परिपूर्ति हुने अर्थ मन्त्रालयले जनाएको छ ।
हस्ताक्षर समारोहमा अर्थ सचिव मरासनीले मुलुकमा व्याप्त दक्षजनशक्ति अभावको समस्यालाई न्यूनीकरण गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे। सीपयुक्त जनशक्तिको उत्पादनबाट स्वरोजगारको वातावरण बन्ने छ ।
त्यस्तै वैदेशिक रोजगारीमा जानेले आकर्षक सेवा सुविधा पाउने र मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । प्रदेश नम्बर २ बाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अधिक रहेको अवस्थामा सो प्रदेशमा पोलिटेक्निक इन्स्टिच्युट स्थापनाले सीप सिकेर विदेश जान सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । समारोहमा नेपालका लागि कोरियाका राजदूत पार्कले नेपालको विकासमा कोरिया सरकारले विभिन्न सहयोग गर्दै आएको बताएका थिए ।










