रेडक्रस पर्साका पदाधिकारीले अनियमितता गरेको आरोप, अख्तियारमा उजुरी दिन चुनौती
नेपाल रेडक्रस सोसाईटी पर्साका पदाधिकारीलाई अनियमितता गरेको आरोप लागेको छ । केही दिनदेखि सञ्चार संस्था तथा पत्रपत्रिकाहरुमा गरिमा बोकेको विश्वासिलो संस्था नेपाल रेडक्रस सोसाईटीमाथी अनियमितता गरेको आरोप लागेको हो ।
आरोप लाग्दासमेत पदाधिकारीको कुनै प्रतिक्रिया नआएपछि अनियमितता भएको हुन सक्ने आशंका उब्जिएको छ । विभिन्न किसिमका प्राकृतिक तथा दैविक प्रकोप, आपत विपत, आगजनी, बाढी, पहिरो, भुकम्प लगायतको विपदहरुमा आउने सहयोग र परियोजनाको रकम दोहन गरेर भ्रष्टाचार गरेको आरोप वर्तमान पदाधिकारीले लगाएको भनेर पत्रपत्रिकामा समाचार प्रकाशन भएको छ ।
घर भाडा, ब्लड बैंक, विभिन्न सामान खरिद, एम्बुलेन्स सञ्चालन, नियुक्ति, सेवा सुविधा, जोखिम न्युनिकरण सम्बन्धी शिविर, जनचेतनामुलक कार्यक्रम लगायतका विभिन्न कामहरु गर्दा व्यापक भ्रष्टाचार गर्नुका साथै दातृ निकायको सहयोगमा सञ्चालित परियोजनाको हिसावसमेत रेडक्रसमा नराखेको आरोप लगाइएको छ ।
यता आरोपको खण्डन गर्दै नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति बिरेन्द्रराज कँडेलले अनियमितता गरेको प्रमाण भए अख्तियारमा उजुरी दिन चुनौती दिएका छन् । सभापतिको कार्यकाल २ वर्षसम्म निर्वाह गरेको बताउँदै विगत लामो समयदेखि एकाधिकार जमाएको कुरा गलत भएको स्पष्ट पारेका छन् ।
घरभाडामा भ्रष्टाचारको विषयमा कँडेलले घरभाडा पदाधिकारीले उठाउँछ कि कर्मचारीले भन्दै उल्टै प्रतिप्रश्न गरेका छन् । घरभाडासहित अन्य हिसावको विधिवत अडित भएकाले आशंका भएमा कागजपत्र परीक्षण गर्न सक्ने कँडेलको भनाई छ ।
बाल कल्याणको रकम हिनामिना गरेको आरोप लगाउनेलाई भने कँडेलले बाल कल्याण रेडक्रसको मातहतमा पर्दैन भन्ने सामान्य जानकारी राख्न सुझाव दिउका छन् । बिना प्रमाण रेडक्रस जस्तो गरिमा बोकेको संस्थालाई बदनाम गराउन प्रोपोगाण्डा नबनाउनसमेत कँडेलले आग्रह गरेका छन् ।
रेडक्रसका नवनिर्वाचित सभापति बृजकिशोर पटेलले यसअघिको कार्यसमितीले गरेका कामहरुको बारेमा अध्ययन गर्ने समय नमिलेको हुँदा अहिले ति सबै आरोपहरु कुन आधारमा कसले लगायो भन्ने बारेमा समेत आफु अनविज्ञ रहेको प्रतिक्रिया दिए । यात्राडेलीबाट