यसरी ड्र भयो भारत र न्यूजील्याण्डबीचको कानपुर टेस्ट

कोल्हवी न्यूज
२०७८ मंसिर १४, मंगलवार ०६:२४ गते

भारत तथा न्यूजील्याण्डबीच खेलिएको कानपुर टेस्ट ड्र अर्थात बराबरीमा टुंगिएको छ । पुरै पाँच दिनसम्म चलेको यो टेस्ट अन्तिम ओभरसम्म खेलिएको थियो । योसंगै भारतले जितिसकेको खेल बराबरीमा चित्त बुझाउन बाध्य भएको छ । महत्वपूर्ण कुरा के छ भने भारतलाई जितबाट बञ्चित गराउने न्यूजील्याण्डका एक जोडी ब्याट्सम्यान समेत भारतीय नै हुन् । खेलको अन्तिम घण्टा निकै रोमाञ्चक रह्यो । दर्शकहरु एक–एक बलमा हल्ला गरिरहेका थिए ।

रविचन्द्रन अश्विन तथा रवीन्द्र जडेजाले न्यूजील्याण्डका ब्याट्सम्यानहरुलाई एकपछि अर्को गर्दै आउट गरिरहँदा खेल भारतले नै जित्ने अनुमान गरिएको थियो । यद्यपि, दशौं विकेट लिन भारतीय बलरहरु असफल रहे । अवस्था कस्तो रह्यो भने कप्तान अजिंक्य रहाणेले न्यूजील्याण्डका ब्याट्सम्यानको नजिकै ९–१० जना फिल्डरलाई उभ्याएका थिए । पाँचौं दिनको खेल प्रारम्भ हुँदा भारतलाई जितका लागि ९ विकेटको आवश्यकता थियो ।

तर, पहिलो सेशनमा भारतले एउटा पनि विकेट लिन सकेन । टम लाथम तथा विलियम समरविलले उत्कृष्ट ब्याटिङ गर्दै न्यूजील्याण्डलाई मजबूत सुरुवात दिलाए । यद्यपि, लञ्चपछि भारतले पुनरामगन गर्दै दोस्रो सेशनमा तीन विकेट लियो । अन्तिमको सेशनमा भारतलाई ६ विकेट लिनु पर्ने थियो, अश्विन र जडेजाको स्पिनको जादू देखिन पनि थालेको थियो । न्यूजील्याण्डले १२६ रनमा आफ्नो पाँचौं विकेट गुमाएको थियो, त्यसपछि लगातार भारतले विकेट लिइरह्यो ।

अन्त्यमा, भारतीय मूलका न्यूजील्याण्डका दुई खेलाडीले भारतलाई विजयी हुन दिएनन् । न्यूजील्याण्डका रचिन रवीन्द्र तथा एजाज पटेलले न्यूजील्याण्डलाई हारबाट बचाए । रचिन रवीन्द्रले ९१ बल खेल्दै भारतलाई जितबाट बिमुख गराउन ठूलो योगदान दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*