हेटौँडा–४ मा युवामाथि सांघातिक हमला, आक्रमणकारीको खोजीमा प्रहरी

कोल्हवी न्यूज
२०८३ कार्तिक ९, आईतवार २१:२३ गते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक जुस पसलमा युवामाथि रड प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा तीन जना घाइते भएका छन् भने आक्रमणमा संलग्न व्यक्तिहरू फरार भएका छन्।

प्रहरीका अनुसार साँझ करिब ५ः१५ बजे ‘अन फ्रेस जुस’ पसलमा जुस पिइरहेका युवामाथि मास्क लगाएर आएका चार जनाले अचानक आक्रमण गरेका थिए। दुईवटा मोटरसाइकलमा आएका उनीहरू पसलभित्र प्रवेश गरी फलामे रड प्रहार गरेर फरार भएका हुन्।

आक्रमणमा हेटौँडा–३, बसामाडीका २७ वर्षीय बुद्ध पाख्रिन, ३१ वर्षीय जनमुक्तान र ३० वर्षीय अंकित राई घाइते भएका छन्। पाख्रिनको बायाँ आँखामा चोट लागेको छ भने मुक्तान र राईको टाउको तथा हातमा चोट पुगेको प्रहरीले जनाएको छ।

घटनापछि तीनै जना उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

आक्रमणकारीको खोजी तथा घटनाको अनुसन्धानका लागि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सानोपोखरा प्रहरी चौकीका प्रहरी निरीक्षक धर्मराज खत्री र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गणका प्रहरी निरीक्षक शत्रुधन ठाकुरको नेतृत्वमा २० जना सुरक्षाकर्मी खटिएका छन्।

सर्वसाधारणको चहलपहल हुने बजार क्षेत्रमा भएको घटनालाई प्रहरीले गम्भीर रूपमा लिँदै संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*