मिथिलामा धुमधामका साथ मनाइँदै कोजाग्रत पूर्णिमा, जानकी मन्दिरमा १४२ वर्ष पुरानो परम्परा
जनकपुरधाम । मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमा आज धार्मिक विधि र सांस्कृतिक परम्परासहित मनाइँदैछ । बडादशैँ तथा दुर्गापूजाको समापनपछि मनाइने यस पर्वलाई शरद् पूर्णिमाका रूपमा समेत चिनिन्छ ।
धार्मिक मान्यताअनुसार आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष महत्त्व छ । जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार कोजाग्रत पूर्णिमालाई ‘महारास’ को दिनका रूपमा पनि लिने गरिन्छ ।
धार्मिक विश्वासअनुसार यस दिन भगवान् श्रीकृष्ण र गोपीहरूबीच महारास भएको मानिन्छ । यही मान्यताका कारण पर्वलाई विशेष धार्मिक महत्त्वका साथ मनाउने परम्परा रहेको महन्थ दासले बताए ।
कोजाग्रत पूर्णिमाका अवसरमा जनकपुरधाममा राति शीतमा खिर राखेर भोग लगाउने र भगवान् श्रीरामको विशेष पूजाअर्चना गर्ने चलन छ । जानकी मन्दिर परिसरमा मिथिलाको मौलिक संस्कृति झल्काउने समदाउन, हाँसोठट्टा तथा विवाहमा गाइने गारी गीत गाउने परम्पराले पनि यस पर्वलाई थप विशेष बनाउँछ ।
महन्थ दासका अनुसार नवदम्पतीहरूका लागि समेत कोजाग्रत पूर्णिमा विशेष महत्त्वको पर्व हो । यस अवसरमा धार्मिक आस्था र सांस्कृतिक उत्सवको रौनक देखिने गरेको छ ।
१४२ वर्ष पुरानो ‘भार’ चढाउने परम्परा
कोजाग्रत पूर्णिमाको अर्को विशेष आकर्षण महोत्तरीको रतौलीबाट जानकी मन्दिरमा भार (सगात) ल्याएर चढाउने परम्परा हो । यस वर्ष पनि करिब १४२ वर्ष पुरानो उक्त परम्परालाई निरन्तरता दिइएको छ ।
रतौलीका स्वर्गीय महेन्द्र ठाकुरको परिवारले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन माता अन्नपूर्ण देवीलाई अर्पण गर्न विभिन्न खाद्य सामग्रीसहितको भार जानकी मन्दिरमा ल्याउने गरेको छ ।
पारिवारिक मान्यताअनुसार सन्तान प्राप्तिको कामना गर्दै महेन्द्र ठाकुरले गरेको भाकल पूरा भई तीन छोराको जन्म भएपछि यस परम्पराको सुरुवात भएको थियो । त्यसयता ठाकुर परिवारले हरेक वर्ष नियमपूर्वक भार चढाउँदै आएको छ ।
भारमा दही, चिउरा, दाल, मिठाई, अचार, फलफूल र तरकारीलगायतका सामग्री समावेश गरिन्छन् । परिवारका अनुसार यी सामग्री आफ्नै खेतबारीमा उत्पादन गरिएका र घरमै शुद्धतापूर्वक तयार पारिएका हुन्छन् ।
स्वर्गीय महेन्द्र ठाकुरका जेठा छोरा नवीनकुमार ठाकुरले पुर्खादेखि चलिआएको यस परम्परालाई आगामी पुस्ताले समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार मिथिला संस्कृतिमा विवाहपञ्चमीपछिको महत्त्वपूर्ण पर्वका रूपमा कोजाग्रत पूर्णिमालाई लिने गरिन्छ । यस दिन जानकी मन्दिरमा पुगेर श्रद्धापूर्वक भाकल गरे मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ ।
धार्मिक आस्था, पारिवारिक परम्परा र मिथिलाको मौलिक संस्कृतिको संगमका रूपमा कोजाग्रत पूर्णिमा मिथिला क्षेत्रमा विशेष उत्साहका साथ मनाउने गरिन्छ ।










