एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर
देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।
आजबाट सौराहामा बन्दसत्र
महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ । एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको दाबी गरिन् । उनले महाधिवेशनमा सहभागीको संख्या अत्यधिक भएर आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको जानकारी दिइन् ।
देशभरका ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वटै वडाबाट आएका लाखौं जनता, स्वेदशी तथा विदेशी पाहुनाबीच एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो ।
उद्घाटन अगाडि आयोजित (यालीमा एमाले र अध्यक्ष ओलीको पक्षमा नारासमेत लगाइएको थियो । उद्घाटनका क्रममा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा एमालेको सरकारका पालामा भएका महत्वपूर्ण उपलब्धि समेटेर तयार गरिएको डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नारायणगढ बजारमा सवारी चलेका थिएनन् । बजार क्षेत्रमा कार्यक्रममा सहभागीहरूको भिड देखिएको थियो । पूर्वी क्षेत्रबाट आउने सवारीसाधन पास नभएका कारण झन्डै ३ किलोमिटरसम्म सहभागीले पैदल यात्रा गरेका थिए । जिल्लाका ७ स्थानबाट बाजागाजासहितको जुलुस निकालिएको थियो ।
एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरूले नारायणी नदी किनार भरिभराउ भएको थियो । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रूपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्लेसमेत राखिएको थियो ।
चितवनको इतिहासमा यति धेरै मानिस जम्मा भएको यो पहिलोपटक भएको जिल्ला अध्यक्ष रावलको भनाइ छ । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरू नारायणगढ बजारमा छरिएका थिए ।
५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ राखिएको थियो । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गरेको थियो । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाएका थिए ।
महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८ सय, सशस्त्र प्रहरीको ४ सय ५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन भएका थिए । त्यस्तै, चितवनसँग सिमाना जोडिएको नवलपुरको गैंडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । महाधिवेशन स्थलमा आवतजावत सहज बनाउन आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको थियो ।
आज शनिबारबाट बन्दसत्र सुरु हुने भएको छ । महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । बन्दसत्रमा निर्वाचित र मनोनीत गरी २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
यसअघि २७ कात्तिकमा देशभरिबाट १ हजार १ सय ९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही ७ मंसिरमा बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी, महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।
चितवनको सौराहामा चुनावको प्रक्रियाका लागि कार्यालय स्थापना गरिएको छ । महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उनले स्पष्ट पारे । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।
चुनावमा १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । ९२ वटा मेसिन चुनावका लागि प्रयोग गरिने र तीनवटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिनेछ । पाँचवटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ ।
कसले के भने–
लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औं महाधिवेशन आयोजना गर्न लागेकोमा म नेकपा एमालेलाई बधाई दिन चाहन्छु । साथै महाधिवेशनको पूर्ण सफलताको कामना पनि गर्छु । नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौं । हामी सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएका हौं । यसलाई संस्थागत गर्ने जिम्मेवारी सबै दलहरूको हो । नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनीतिक दलहरूसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
शेरबहादुर देउवा, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति
नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको छ । राष्ट्रिय हित र विकासमा मतभेद हुनु हुँदैन । कम्युनिस्ट आन्दोलनलाई सफलताको शिखरमा पु(याउन एकता र धु्रवीकरण अपरिहार्य छ । विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ । एकता, संघर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो । कम्युनिस्ट पार्टीको बीचमा मतभेद र तिक्तता भए पनि सहकार्य आवश्यक छ ।
लीलामणि पोखरले, नेता, नेकपा माओवादी केन्द्र
संविधानलाई समावेशी र संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्छ ।
उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी
सरकारमा रहँदा मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन चाहन्छु । उहाँले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गर्नुभएको थियो ।
महन्थ ठाकुर, अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी
कम्युनिस्ट पार्टी एकजुटको विकल्प छैन । कम्युनिस्ट एकताले मात्र देश र जनताको हित हुन्छ । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प छैन ।
चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएका छन् । उनले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेका थिए । चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न पनि ओली सफल भएका थिए । ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएका थिए ।
कमल थापा, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
७२ वर्षे एमालेमा को को आए नेतृत्वमा रु
एमालेको ७२ वर्षे इतिहासमा शुक्रबारबाट चितवनमा ऐतिहासिक महाधिवेशन सुरु भएको छ । १० वैशाख २००६ सालमा स्थापना भएको यो पार्टीको यो १०औं महाधिवेशन हो । हालसम्म एमाले नेतृत्व लिन सफल भएका नेताहरू
पहिलो महाधिवेशन
२०१० माघ १०–२० गते
पाटन, ललितपुर र काठमाडौं
महामन्त्री स् मनमोहन अधिकारी
दोस्रो महाधिवेशन
२०१४ जेठ १५–२५ गते
फोहरा दरबार, दरबारमार्ग, काठमाडौं
महासचिव स् डा केशरजंग रायमाझी
तेस्रो महाधिवेशन
२०१९ वैशाख ४–१५
महासचिव स् तुल्सीलाल अमात्य
चौथो महाधिवेशन
२०४६ भदौ ९–१४ गते
सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बास
महासचिव स् मदनकुमार भण्डारी
पाँचौं महाधिवेशन
२०४९ माघ १४–२० गते
दशरथ रंगशाला–कमलादी, काठमाडौं
अध्यक्ष स् मनमोहन अधिकारी,
महासचिव स् मदनकुमार भण्डारी
छैटौं महाधिवेशन
२०५४ माघ १२–१८ गते
नेपालगन्ज, बाँके
अध्यक्ष स् मनमोहन अधिकारी
महासचिव स् माधवकुमार नेपाल
सातौं महाधिवेशन
२०५९ माघ १८–२२ गते
जनकपुर, धनुषा
महासचिवस् माधवकुमार नेपाल
आठौं महाधिवेशन
२०६५ फागुन ५–१४
बुटवल, रूपन्देही
अध्यक्ष स् झलनाथ खनाल
महासचिव स् ईश्वर पोखरेल
नवौं महाधिवेशन
२०७१ असार १९–साउन १ गते
भृकुटीमण्डप, काठमाडौं
अध्यक्ष स् केपी शर्मा ओली
महासचिव स् ईश्वर पोखरेल
प्रथम विधान महाधिवेशन
२०७८ असोज १५–१७
गोदावरी, ललितपुर
१०औं महाधिवेशन
२०७८ मंसिर १०–१२ गते
नारायणगढ र सौराहा, चितवन (जारी ) राजधानीडेलीबाट










