बडादसैँको सातौँ दिन आज कालरात्रि देवीको पूजा गरिँदै

कोल्हवी न्यूज
२०८३ कार्तिक १, शनिबार ०६:०८ गते

बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज असोज ३१ गते शनिबार देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा कालरात्रि देवीको पूजा–आराधना गरिँदै छ। आजकै दिन दसैँघरमा फूलपाती भित्र्याउने परम्परासमेत रहेको छ।

नवदुर्गाका सातौँ स्वरूप कालरात्रिलाई शक्ति, साहस र दुष्ट शक्तिको विनाश गर्ने देवीका रूपमा पूज्ने गरिन्छ। पौराणिक मान्यताअनुसार असुर राजा रक्तबीजको संहारका लागि देवी दुर्गाले कालरात्रिको रूप धारण गरेकी थिइन्।

शास्त्रीय वर्णनअनुसार कालरात्रिको स्वरूप कालो वर्णको, खुला कपाल भएको र चार हातयुक्त छ। उनको स्वरूप भयङ्कर देखिए पनि भक्तजनलाई शुभ फल प्रदान गर्ने विश्वासका कारण उनलाई ‘शुभङ्करी’ नामले समेत चिनिन्छ।

कालरात्रिको आराधना गर्दा मनमा रहेका डर, त्रास र नकारात्मकता हट्ने धार्मिक विश्वास छ। यस दिन भक्तजनले बिहानै स्नान तथा नित्यकर्म पूरा गरी विधिपूर्वक देवीको पूजा गर्ने चलन छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिन्छ। त्यसैगरी आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने परम्परा छ।

दसैँको यस अवसरमा काठमाडौंका नक्साल भगवती, शोभा भगवती र भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली तथा पोखराको विन्ध्यवासिनीलगायत शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढ्ने गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*