कांग्रेस केन्द्रीय समितिमा विज्ञहरूको प्रवेश, ४५ चिकित्सक र इन्जिनियर निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य प्रतिनिधित्व देखिएको छ। पार्टीको नेतृत्वदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रका व्यक्तिहरू निर्वाचित भएका हुन्।
नयाँ कार्यसमितिमा ३० जना चिकित्सक र १५ जना इन्जिनियर समेटिएका छन्। विशेष महाधिवेशनपछि विधान संशोधन गर्दै पेशागत क्षेत्रका व्यक्ति तथा विषयविज्ञलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने नीति लिइएको थियो। त्यसअनुसार विभिन्न पेशा र विषयगत क्षेत्रका व्यक्तिहरू निर्वाचन प्रक्रियाबाट केन्द्रीय समितिमा पुगेका हुन्।
नयाँ कार्यसमितिमा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) तथा मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्।
खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने चिकित्सकमा प्रा.डा. गोविन्दराज पोखरेल, डा. शोभाकर पराजुली, डा. सुरजराज काफ्ले, डा. कृष्णप्रसाद पौडेल र डा. मुक्तिराम श्रेष्ठ छन्। इन्जिनियरतर्फ मोहन आचार्य, अमृत ज्ञवाली, नवराज त्रिपाठी, ऋषि कोइराला र दीपकबाबु कँडेल केन्द्रीय सदस्य बनेका छन्।
समावेशी समूहबाट पनि चिकित्सक तथा इन्जिनियरहरूले प्रतिनिधित्व गरेका छन्। आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज लामा र डा. गंगालक्ष्मी अवाल निर्वाचित भएका छन्। दलित खुलातर्फ डा. डीबी सुनार केन्द्रीय सदस्य बनेका छन्।
मधेश समूहबाट डा. गरिव दास ठाकुर, डा. मधुकुमारी ठाकुर र डा. अञ्जनीकुमार झा निर्वाचित भएका छन्। खसआर्यतर्फ इन्जिनियर लक्ष्मण केसी र डा. भद्रा पराजुली भण्डारीले स्थान बनाएका छन्। थारु समुदायबाट डा. भोगेन्द्रप्रसाद चौधरी, डा. जीवन राना र डा. प्रमिला कुमारी गच्छदार तथा मुस्लिम समुदायबाट डा. अताबुल मन्सुरी निर्वाचित भएका छन्।
प्रदेशगत र युवा समूहमा पनि चिकित्सक तथा इन्जिनियरहरूको उपस्थिति देखिएको छ। कोशी प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ डा. योशिका भट्टराई र इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित भएका छन्। बागमती प्रदेशको खुलातर्फ प्रा.डा. सूर्यकान्त घिमिरे र इन्जिनियर रोहित पौडेल केन्द्रीय सदस्य बनेका छन्।
गण्डकी प्रदेशबाट युवा महिलातर्फ डा.कला पन्त र खुला युवा समूहबाट इन्जिनियर सुवास पौडेल निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट युवा खुलातर्फ इन्जिनियर भुवनराज भट्ट केन्द्रीय सदस्य बनेका छन्।
सातै प्रदेशबाट निर्वाचित हुने ३५ वर्षमुनिका खुला युवा केन्द्रीय सदस्यमा इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भएका छन्। नेपाली जनसम्पर्क समितितर्फ डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्यमा चुनिएका छन्।
पेशागत तथा विषयगत क्षेत्रबाट डा. केदार नरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल र डा. प्रदीप मिश्र केन्द्रीय समितिमा पुगेका छन्। महिला सदस्यतर्फ डा. सीता पोखरेल (घिमिरे) र डा. बाला अधिकारी निर्वाचित भएका छन् भने काठमाडौं उपत्यकाबाट महिला केन्द्रीय सदस्यमा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध चयन भएकी छन्।
नयाँ कार्यसमितिमा विभिन्न पेशा, विशेषज्ञता, उमेर समूह र समुदायको प्रतिनिधित्व बढेसँगै पार्टीको नीति निर्माण तथा निर्णय प्रक्रियामा विज्ञहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।










