नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा स्पेन प्रस्थान
अन्तर व्यवस्थापिका संघ (आई पी यू) १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्पेन प्रस्थान गरेका छन् ।
प्रतिनिधिमण्डल आज (बुधबार) बेलुका ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन तर्फ प्रस्थान गरेको हो । सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई रहेका छन् ।
यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।
अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा यहि मंसिर १० देखि १४ (२६ देखि ३० नोभेम्बर २०२१ ) स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदै छ । सो सम्मेलनमा “Contemporary Challenge to Democracy: Overcoming Division and Building Community” शीर्षकमा सभामुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी २८ नोभेम्बरमा स्पेनको म्याड्रिडमा आयोजना हुने “Meeting of the Parliamentary Network of the Non-Aligned Movement” मा सभामुख सापकोटाले भागलिई बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल मंसिर १६मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।










