चण्डेश्वरले सम्झिए राजा हट्नुअघिको प्रसंग
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अब धेरै दिन पदमा बस्न नसक्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश लाचार भएर कुर्सीमा बसिरहेको बताए ।
“राजा हटाउनुअघि संविधानसभाले निर्णय गरेको थियो । प्रन्याका विषयमा आज १९ जना न्यायाधीशले निर्णय गरेका छन् । त्यहाँ प्रधानन्यायाधीश छैनन् । यो उनी चाँडै हट्ने संकेत हो,” अध्यक्ष श्रेष्ठले भने ।
आज सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्नका लागि नियमावली र निर्देशिका पारित गरेको छ । प्रधानन्यायाधीश जबराले बोलाएको उक्त बैठकमा उनी स्वयं भने सहभागी भएनन् । तर, सर्वोच्चका बाँकी १९ जना न्यायाधीशको बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका थिए ।
नेपाल बारका अध्यक्ष श्रेष्ठले सोही सन्दर्भ जोड्दै प्रधानन्यायाधीश अब धेरै दिन पदमा बस्न नसक्ने बताएका हुन् ।
वि।सं २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र अन्त्यको घोषणा गर्दै मुलुकमा गणतन्त्र स्थापना गरिएको थियो ।









