वीरगञ्ज महानगरमा पनि सुरु भयो कांग्रेसको वडा अधिवेशन
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा पनि कांग्रेसको वडा अधिवेशन सुरु भएको छ।
प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जको विभिन्न वडामा बुधबारदेखि कांग्रेसको वडा अधिवेशन सुरु भएको हो।
महानगरका केही वडामा बुधबार नै सर्व सहमतिबाट बुथ सभापति चुनिएका छन् भने केही वडामा भने विवाद भएका कारण वडा अधिवेशन सुरु हुन सकेको छैन।
महानगरपालिकाको वडा नम्बर ३० र १० मा बुधबार सर्वसम्मत सभापति छनोट भएका छन्।
वडा नम्बर १० मा रामनगिना साह कानु बुथ सभापतिमा निर्विरोध भएका छन्। क्रियाशील सदस्यहरूको उपस्थितिमा कानुलाई सर्वसम्मत वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत प्रदीपकुमार जैसवालले जानकारी दिए। वडा समितिको उपसभापतिमा आसमाराम गुप्ता, राकेसकुमार साह, सचिवमा भैरवबहादुर महर्जन, सह–सचिवमा राहुलकुमार गुप्ता र शुभनारायणप्रसाद पटेल चयन भएका छन्।
बुथ सभापतिमा निर्विरोध चयन भएका कानु वडा नम्बर १० का निर्वाचित वडाध्यक्षसमेत हुन्।
यसैगरी, वडा नम्बर ३० मा पनि कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। वडा नम्बर ३० मा सर्वसम्मतबाट अलि हुसेन देवान बुथ सभापतिमा चयन भएका छन्।
देवान बुथ सभापतिमा सर्व सहमतिले चयन भएको कांग्रेस वडा समितिका सचिव लहवर साह कानुले जानकारी दिए।
मतदान अधिकृत मृत्युञ्जयकुमार मिश्रको रोहवरमा कांग्रेसको वडा सभापतिमा देवान उपसभापतिमा हरेराम मण्डल, सचिवमा लहवर साह कानु, उपसचिवमा दिनेशप्रसाद कुशवाहालगायत चयन भएका छन्।
यसैगरी, १५ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत छनोट भएका छन्।
यसैगरी, महानगरपालिका–२१ को वडा सभापतिमा रामनारायण साहलाई चयन गरिएको छ। उपसभापतिद्वय हृदयनारायण राउत कुर्मी र देवकुमार मण्डल, सचिवमा श्रीलाल महतोलगायत सदस्य सर्वसम्मत चयन भएका छन्। वडा नम्बर १९ मा सर्वसम्मतबाट बिन्देसवर चौरसिया बुथ सभापतिमा चयन भएका छन्।
यस्तै, उपसभापतिमा अवध राय, सचिव रामचन्द्र चौरसिया, उपसचिव सन्दीप साहलगायत चयन भएका छन्।
वीरगञ्ज महानगर–१७ मा भने विवाद भएपछि बुधबार वडा अधिवेशन स्थगन गरिएको थियो।
उक्त वडामा विवाद भएपछि अधिवेशन स्थगन गरेर बिहीबार गर्ने तयारी गरिएको कांग्रेस निर्वाचन कमिटी सदस्य प्रदीप जैसवालले बताए। वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडा छन्।
पर्साको कालिकामाई गाउँपालिकाको सबै वडामा सकियो अधिवेशन
पर्साको गाउँपालिकामा समेत कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। कालिकामाई गाउँपालिकाका पाँच वटै वडामा कांग्रेसको वडा अधिवेशन बुधबार सम्पन्न भएको छ।
गाउँपालिकामा रहेका पाँच वडामध्ये वडा नम्बर १, २ र ३ मा सर्वसम्मत तथा वडा नम्बर ४ र ५ मा निर्वाचनबाट वडा समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।
पर्सा जिल्लामा लामो समयको पर्खाइपछि बुधबारदेखि पालिकाहरूको वडा अधिवेशन सुरु भएको छ। कांग्रेसको १४औं महाधिवेशनका लागि प्रदेश २ का आठ वटै जिल्लामा वडा अधिवेशन जारी छ।
कार्यतालिका सार्वजनिक गरी कात्तिक २७ गतेदेखि वडा तथा प्रदेशका जिल्लामा अधिवेशन भइरहेको कांग्र्रेस प्रदेश २ का संयोजक रमेश रिजालले जानकारी दिए। देशाञ्चर डटकमबाट









