अरब सागरमा न्यून चापीय प्रणाली सक्रिय बन्दै, कस्तो रहला नेपालको मौसम ?
अरब सागरमा न्यून चापीय प्रणाली विकास भएपछि नेपालको आकाशमा बादल लागेको छ । देशका विभिन्न क्षेत्रमा शनिबार बेलुकासम्म सामान्य वर्षा हुने जल तथा मौसम विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बादलका कारण लुम्बिनी प्रदेश वाग्मती प्रदेशका तराईदेखि हिमालसम्म सामान्य वर्षा हुने सम्भावना रहेको जानकारी दिए । ‘‘अरब सागरमा अहिले न्यून चापीय प्रणाली बनिरहेको छ । त्यसको प्रभाव दक्षिण एसियाका मुलुकहरूमा पर्छ । त्यसैले नेपाली आकाशमा पनि धुम्म बादल लागेको हो,” उनले भने ।
विभागकाअनुसार सातवटै प्रदेशका पहाडी जिल्लाहरूमा हल्का वर्षा र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ । मौसमविद्काअनुसार अरब सागरमा बनिरहेको न्यून चापीय प्रणाली त्यति ठुलो होइन । पौडेल भन्छन्, ‘‘शनिबार बेलुकासम्म आकाश धुम्म हुन्छ । राम्रोसँग घाम लाग्दैन । आकाशमा तुवानोजस्तो देखिन्छ । वायूमण्डल पारदर्शिता केही कम हुने देखिएको छ ।”
बंगालको खाडीमा र मध्य भारतमा न्यून चापीय प्रणाली बन्दा गएको कार्तिक १ गतेदेखि लगातार ठुलो बेमौसमी वर्षा हुँदा ठुलो क्षति व्यहोर्नुपरेको थियो । मौसमविद्काअनुसार अहिले न्यून चापीय प्रणाली ठुलो नबन्न बताएका छन् । मौसमविद् पौडेल नेपाली आकाश दुईदिनसम्म तुवालोजस्तो धुम्म हुने र त्यसपछि मौसम सुधार हुँदै जाने जानकारी दिए ।
भारतमा वायू प्रदुषण बढेसँगै नेपालमा पनि यसको असर देखिन थालेको छ । वायू प्रदूषणसँगै नेपालको तापक्रम क्रमिक रूपमा घट्दै गएकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।
विभागले बिहीबारको तापक्रम ७।४ डिग्री मापन गरेको थियो ।









