गर्भवतीको मृत्युपछि सर्लाहीको नगर अस्पतालमा तोडफोड र आगजनी, चार पक्राउ
सर्लाही । नौ महिनाकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि सर्लाहीको बरहथवास्थित नगर अस्पतालमा तोडफोड तथा आगजनी भएको छ। घटनामा अस्पतालको इमरजेन्सी कक्षमा क्षति पुग्नुका साथै करिब ३० लाख रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
बरहथवा नगरपालिका–५ हातीढुंगा पानीटंकी टोलका रुपेश रामकी करिब २१ वर्षीया श्रीमती सीमा रामदेवीको आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो। बिरामी भएपछि उनलाई आफन्तले आइतबार नगर अस्पताल बरहथवा पुर्याएका थिए।
अस्पतालमा उपचारका क्रममा अवस्था गम्भीर बनेपछि चिकित्सकले थप उपचारका लागि वीरगन्ज रेफर गरेका थिए। तर, वीरगन्ज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गर्भवतीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको आरोप लगाउँदै आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालमा पेट्रोल छर्केर आगजनी गर्नुका साथै तोडफोड गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बरहथवा, जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र उनका २० वर्षीय छोरा राजन राम रहेका छन्।
त्यस्तै, अस्पतालमै कार्यरत ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा पनि घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरू भने फरार रहेका छन्।
आगजनी तथा तोडफोडबाट अस्पतालमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।









