बारामा श्रीकृष्ण प्रणामी महोत्सवको तयारी, भारतका धर्मगुरुसहित साधुसन्त सहभागी हुने

कोल्हवी न्यूज
२०८३ मंसिर ७, आईतवार १५:२७ गते

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ मा आगामी मंसिर १० देखि १६ गतेसम्म अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म महोत्सव आयोजना हुने भएको छ। नवनिर्मित श्रीकृष्ण मन्दिरको उद्घाटन तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

आयोजक मूल समारोह समितिले पत्रकार सम्मेलन गरी महोत्सवको तयारी र कार्यक्रमबारे जानकारी दिएको हो। करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको विशाल श्रीकृष्ण मन्दिर उद्घाटन गरी उक्त क्षेत्रलाई ‘बाबाजी लक्ष्मीधाम’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

महोत्सव अवधिभर श्रीमत्तारतम सागरको १२५ पारायण वाचनसहित चौरासी पूजा, व्रतबन्धलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ।

मूल समारोह समितिका संयोजक जनार्दनजी शास्त्रीका अनुसार मंसिर १० गते बिहान कलश यात्रा निकालिनेछ। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा नवनिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम छ।

महोत्सवमा धर्मगुरु आचार्य श्रीकृष्णमणिजी महाराजश्री र सूर्यनारायणदासजी महाराजश्रीबाट आशीर्वचन प्रदान गरिनेछ। भारतका विभिन्न प्रमुख आचार्यपीठबाट महन्त, साधुसन्त, पण्डित, प्रचारक तथा विदुषीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

महोत्सवमा देशका विभिन्न स्थानबाट दैनिक करिब १५ हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। भक्तजनको आवास तथा व्यवस्थापनका लागि विशेष तयारी गरिएको मूल समारोह समितिका महासचिव दीपकप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार दैनिक करिब तीन हजार भक्तजनका लागि स्थानीय विद्यालय, मन्दिर, सहकारी संस्थाका सभाहल तथा निजी आवासमा बसोबासको व्यवस्था मिलाइएको छ।

महोत्सव सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने र पाँच करोड रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ। महोत्सवबाट बचत हुने रकम मन्दिर आसपासको जग्गा खरिद तथा बाबाजी लक्ष्मीधाममा गुरुकुल सञ्चालनका लागि प्रयोग गरिने जनाइएको छ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा–४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर) ले महोत्सव सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरे। उनले यस्ता धार्मिक आयोजनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*