एआई, ई–कमर्स र कम्प्युटर तालिममार्फत युवालाई स्वरोजगार बनाउने मधेश सरकार

कोल्हवी न्यूज
२०८३ मंसिर ८, सोमबार ०८:१५ गते

मधेश प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण, युवालाई सीपयुक्त बनाउने तथा स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरता जस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम अघि बढाउने पहिलो निर्णय गर्नुभएको हो।

प्रस्तावित कार्यक्रमअन्तर्गत पुनःसीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

यस्तै, आधुनिक प्रविधिमा आधारित स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धन गर्न कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत युवाको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने लक्ष्य राखिएको छ।

प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम प्रारम्भ गर्ने गरी योजना अघि बढाइएको मुख्यमन्त्रीको निर्णयमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*