नेपाल र भारतका दुई ऐतिहासिक तथा धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच आजदेखि सञ्चालनमा आउने
जनकपुरधाम । नेपाल र भारतका दुई ऐतिहासिक तथा धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच आजदेखि सीधा रेल सेवा सञ्चालनमा आउने भएको छ। राम–सीताको जन्मभूमिलाई रेलमार्गबाट जोड्ने यस सेवाले धार्मिक पर्यटनसँगै दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ। भारतको अयोध्या रेल्वे स्टेसनमा विशेष समारोह आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेसलाई हरियो झन्डा देखाएर सेवा उद्घाटन गरिने उत्तर रेल्वेको लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जनाएको छ।
भारतीय रेल्वेले जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्यासम्म सातामा एकपटक रेल सञ्चालन गर्ने स्वीकृति दिएको भारतीय प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) ले जनाएको छ। करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रारम्भिक चरणमा सातामा एकपटक रेल चल्नेछ। निर्धारित तालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।
त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।
रेल सेवाका लागि जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी निर्धारण गरिएको छ।
जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित हुँदा धार्मिक पर्यटक तथा श्रद्धालुलाई दुवै सहरमा आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ। यसले रामायण सर्किटको अवधारणालाई अघि बढाउनुका साथै मिथिला क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा छ।
नयाँ रेल सेवा सञ्चालनमा आउने भएपछि जनकपुरधामका राजनीतिक दल तथा स्थानीय सरोकारवालाले पनि खुसी व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका नेता तथा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले यसलाई जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। उनका अनुसार रेल सेवाले मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा दुई देशका नागरिकबीचको सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले रेल सेवाले जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न मद्दत पुग्ने बताए। पर्यटकको आवागमन बढ्दा होटल, यातायात, पथप्रदर्शक तथा हस्तकला व्यवसायमा समेत अवसर सिर्जना हुने उनको भनाइ छ।
यद्यपि, पर्यटकको सम्भावित चाप व्यवस्थापनका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास र सुरक्षा व्यवस्थामा सुधार गर्नुपर्नेमा उनले जोड दिए।
जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले लामो समयदेखिको पहलपछि रेल सेवा सञ्चालनमा आउनुलाई सकारात्मक उपलब्धि भएको बताए। सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच नीतिगत निर्णय, प्रशासनिक समन्वय र पूर्वाधार व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका संयोजक दीपक यादवले रामायणसँग सम्बन्धित धार्मिक स्थललाई एकीकृत पर्यटन मार्गका रूपमा विकास गर्न रेल सेवाले योगदान पुर्याउने विश्वास व्यक्त गरे। यसबाट धार्मिक पर्यटन प्रवर्द्धनसँगै रोजगारीका नयाँ अवसरसमेत सिर्जना हुने उनले बताए।
हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ। यही रेल सञ्जाललाई आधार बनाएर अयोध्यासम्म सेवा विस्तार गर्न लागिएको हो।









