मकवानपुरको बकैया–६ मा आगलागी हुँदा ७ लाख बराबरको क्षति
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। शनिबार बिहान भएको आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय प्रकाश बलको काठले बनेको खरले छाएको दुईतले घरमा बिहान करिब ७ बजे आगलागी भएको हो। घरमा कोही नभएको अवस्थामा बालबालिकाले आगो खेलाउने क्रममा अचानक आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
आगलागीपछि स्थानीयवासीको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएका छन्।
घटनामा मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।









