जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

कोल्हवी न्यूज
२०७८ मंसिर २, बिहीबार ०७:५१ गते

नेपाली कांग्रेस पर्वतको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेले ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेस पर्वतको बुधबार सम्पन्न कार्यक्रम समितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो ।

केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । तर, केन्द्रीय निर्वाचन समितिको परिपत्रविपरीत जिल्ला सभापति पदका लागि ५० हजार शुल्क तोकिएको छ । जिल्ला उपसभापति, सचिव र सहसचिबका लागि २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १ लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि ५० हजार तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि २५ हजार शुल्क तोकिएको छ ।

यस्तै, क्षेत्रीय सभापतिका लागि १५ हजार शुल्क तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि १० हजार तोकिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको दाबी गर्नुभयो । ‘जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उम्मेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो’, उहाँले भन्नुभयो– ‘दलित, महिला, अल्पसंख्यक र पीछडिएको क्षेत्रका उम्मेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।’

केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार शुल्क तोकेको छ । यस्तै, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई ५ हजार, उपसभापति र सचिवलाई ३ हजार, सहसचिवलाई २ हजार ५ सय र सदस्यलाई २ हजार शुल्क निर्धारण गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको भन्दा ४० हजार बढी शुल्क तोकिएपछि त्यसको चर्को आलोचना शुरु भएको छ । नेपाली कांग्रेस पर्वतको नेतृत्वमा पुग्नका लागि सामान्य कार्यकर्ताहरु कल्पना पनि गर्न नसक्ने गरी शुल्क तोकिएको भन्दै विरोध भएको हो ।आर्थिक स्रोत नभएकालाई पार्टीभित्र प्रतिस्पर्धामा आउन नदिन यस्तो निर्णय गरिएको आरोप कार्यकर्ताको छ ।

जिल्ला कार्यसमितिले उम्मेदवारी मनोनयनमा चर्को शुल्क लिने गरेको निर्णय गलत भएको उनीहरुको आरोप छ । ‘अब किसान, मजदुर र इमानदार कार्यकर्ता चुनाव लड्नै नसक्ने र उनीहरुलाई दर्ता शुल्कबाट बाहिर पठाउने काम भएको छ । –एक कार्यकर्ताले गुनासो गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*