सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित
आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने उत्कृष्ट १५ करदाताहरूलाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
एक वर्षको अवधिमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । यसैगरी, व्यक्तिगत रुपमा मुलुकलाई सबैभन्दा धेरै कर बुझाएर उत्कृष्ट करदाता बन्न सफल व्यवसायी सिद्धार्थशमशेर जंगबहादुर राणा हुन् ।
सिद्धार्थ शम्सेर जबरा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपाल प्रालिका निर्देशक हुन् । राणा आन्तरिक विभागबाट यसरी लगातार सातौंपटकसम्म सम्मानित भएका हुन् ।
व्यक्तिमा राणा र संस्थामा टेलिकमले धेरै बुझाए
अघिल्लो वर्ष भने व्यक्तिगत तर्फ जावलाखेल डिस्टिलरी ग्रुपका अध्यक्ष विजय शाहले यो सम्मान पाएका थिए । सरकारबाट यसरी सम्मानित हुने अन्य कम्पनीमा डाबर नेपाल प्रालि, एसियन पेन्ट्स नेपाल प्रालि, पूर्वाञ्चल एग्रिगेट प्रालि, छिमेक लघुवित्त वित्तीय संस्था, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी रहेका छन् ।
यसैगरी, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, भाटभटेनी सुपरमार्केटद एन्ड डिपार्टमेन्टल स्टोर, कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, हिमाल पावर लिमिटेड, सूर्य नेपाल प्रालि र घोराही सिमेन्ट इन्डस्ट्री कम्पनीलगायत सम्मानित भएका हुन् ।
बुधबार राजधानीमा आयोजित उत्कृष्ट करदाताहरूको सम्मान कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललगायतको सहभागिता रहेको थियो । यसरी सम्मानित भएका उत्कृष्ट करदातले बुझाएको कर रकम भने विभागले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
१०औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित सो कार्यक्रममा अर्थमन्त्री शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधानका लागि संयन्त्र निर्माण गर्ने बताए । करदाताहरूको गुनासा सुन्नु परिरहेकाले यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेको बताउँदै मन्त्री शर्माले भने, ‘तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाइ÷संयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासो राख्न पाउनुहुन्छ ।’
उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताए । यसैगरी, अर्थमन्त्री शर्माले राजस्व तथा कर चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे ।
पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले देशको कर संकलनमा समेत असर गरिरहेको भन्दै उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए । उनले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै उनले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर, सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ,’ उनले भने, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँछु ।’









