बारा कोल्हवीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, दुई जना घाइते

कोल्हवी न्यूज
२०८३ कार्तिक २३, आईतवार ०८:१७ गते

कोल्हवी,बारा। बाराको कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 

 

प्रहरीका अनुसार हिजो साँझ करिब ७:३० बजे तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट झुरझुरबाट प्रहरी सहायक निरीक्षक राजेश दास बनियाको कमाण्डमा र इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

 

 

दुर्घटनामा परी कोल्हवी नगरपालिका–२ निवासी मोहन मोक्तानका २८ वर्षीय छोरा अमित मोक्तान गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो। उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पुर्‍याइएका मोक्तानलाई राति ९ बजे चिकित्सकले ईसीजी परीक्षणपछि मृत घोषणा गरेका थिए। उनको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

 

 

 

त्यस्तै, दुर्घटनामा सोही स्थानका सुरज तामाङका २४ वर्षीय छोरा मनिष तामाङ घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ।

 

 

कोल्हवी–२ कै नरबहादुर लामाका करिब २५ वर्षीय छोरा मनोज लामाको पनि टाउकोमा चोट लागेको छ। उनको समेत एलएस न्युरो अस्पताल परवानीपुरमै उपचार भइरहेको छ।

 

 

 

प्रहरीका अनुसार दुर्घटनामा परेको मोटरसाइकल कसले चलाएको थियो भन्ने हालसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*