रास्वपाको आन्तरिक निर्वाचन र उम्मेदवार छनौटमा कडाइ

प्रक्रिया पूरा नगरी उम्मेदवारी घोषणा तथा प्रचार गर्न रोक
कोल्हवी न्यूज
२०८३ कार्तिक २२, शनिबार ०८:१९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र हुने विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र मर्यादित बनाउन नयाँ निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले २०८३ साल कार्तिक २० गते जारी गरेको अपिल तथा निर्देशनमार्फत पार्टीका सदस्य, पदाधिकारी, नेतृत्वका आकांक्षी तथा उम्मेदवार बन्न इच्छुक सबैलाई तोकिएको विधि र प्रक्रियाको पूर्ण पालना गर्न आग्रह गरेको हो।

 

 

 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी.द्वारा हस्ताक्षरित निर्देशनमा पार्टीको विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनविपरीत कुनै पनि तहमा अनधिकृत वा समानान्तर निर्वाचन प्रक्रिया सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ। पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढिरहेको सन्दर्भमा आयोगले यस्तो निर्देशन जारी गरेको हो।

 

 

 

निर्देशनको पहिलो बुँदामा निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टीको विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र सञ्चालन गर्नुपर्ने उल्लेख छ। कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न नपाइने आयोगले जनाएको छ।

 

 

 

पार्टीभित्रको प्रतिस्पर्धालाई निष्पक्ष र स्वस्थ बनाउन व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरेर निर्वाचन प्रक्रिया प्रभावित पार्न नहुने निर्देशनमा उल्लेख गरिएको छ। सबै योग्य सदस्य तथा नेतृत्वका आकांक्षीलाई समान अवसर सुनिश्चित गर्नुपर्ने आयोगको जोड छ।

 

 

 

स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पनि आयोगले विशेष रूपमा स्पष्ट पारेको छ। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लबमा आबद्ध हुनु वा आवेदन दिनु मात्रै उम्मेदवारको अन्तिम सुनिश्चितता नहुने निर्देशनमा उल्लेख छ। आवेदन दिएको आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट उम्मेदवारी घोषणा गर्ने वा प्रचारप्रसार गर्ने कार्य विधिविपरीत हुने आयोगले स्पष्ट पारेको छ।

 

 

नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्यांकन, प्राथमिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा भएपछि मात्र पार्टीले अन्तिम उम्मेदवारको निर्णय गर्ने जनाएको छ।

 

 

 

यसैगरी, अधिवेशन हुन बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका पार्टी संरचनालाई अधिवेशनको तयारी र प्रक्रियाका विषयमा माथिल्लो तहको नेतृत्व तथा विभागसँग आवश्यक परामर्श र समन्वय गर्न निर्देशन दिइएको छ। सम्बन्धित अधिवेशनको आधिकारिक मिति तथा कार्यतालिका घोषणा नभएसम्म कसैले पनि नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने वा प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ।

 

 

 

निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्ने नीति पनि आयोगले अघि सारेको छ। आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोग गरी निर्वाचन प्रभावित पार्ने गतिविधि निषेध गरिएको छ। आचारसंहिता र निर्देशनविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सामग्री प्रकाशन तथा साझा गर्नसमेत रोक लगाइएको छ।

 

 

 

निर्देशन उल्लंघन गर्ने व्यक्तिलाई उल्लंघनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेज, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ।

 

 

 

त्यसैगरी निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा संगठनात्मक प्रक्रियासँग सम्बन्धित आन्तरिक दस्तावेज, निर्णय, छलफल, पत्राचार, अभिलेख तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न पनि आयोगले निर्देशन दिएको छ। आधिकारिक स्वीकृतिबिना यस्ता सूचना सार्वजनिक गर्ने वा अनधिकृत व्यक्ति तथा निकायसँग साझा गर्न नपाइने उल्लेख छ।

 

 

 

अन्त्यमा आयोगले पार्टीभित्रको लोकतन्त्र, संस्थागत मर्यादा र निष्पक्ष प्रतिस्पर्धा कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै पद, पहुँच वा प्रभावका आधारमा कसैले पनि विधिभन्दा माथि रहने छुट नपाउने स्पष्ट पारेको छ।

 

 

 

रास्वपाको यो निर्देशनले पार्टीभित्र आगामी निर्वाचनको उम्मेदवार बन्न आकांक्षा राख्ने तथा विभिन्न तहको नेतृत्वमा पुग्न चाहने सदस्यहरूलाई आधिकारिक प्रक्रिया पूरा नगरी प्रचारप्रसारमा उत्रिन नपाउने सन्देश दिएको छ। यसले पार्टीको आन्तरिक निर्वाचन र उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित तथा अनुशासित बनाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*