मधेशका १३६ स्वास्थ्य संस्थामध्ये बौधिमाई स्वास्थ्य केन्द्र तेस्रो उत्कृष्ट

कोल्हवी न्यूज
२०८३ कार्तिक २२, शनिबार ०७:१८ गते

रौतहट — स्वास्थ्य सेवा व्यवस्थापन र नागरिकलाई उपलब्ध गराइने सुविधाको प्रभावकारितामा रौतहटको बौधिमाई नगरपालिकाले मधेश प्रदेशस्तरमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रदेशका आठवटै जिल्लाका १३६ स्वास्थ्य संस्थाको कार्यसम्पादन परीक्षण गर्दा बौधिमाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेस्रो स्थानमा पर्न सफल भएको छ।

आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रम, सेवा प्रवाहको अवस्था, निर्धारित लक्ष्यको प्रगति र व्यवस्थापकीय पक्षलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा स्वास्थ्य केन्द्रले उक्त स्थान प्राप्त गरेको हो।

मूल्याङ्कनमा लालबन्दी स्वास्थ्य कार्यालय पहिलो र बिशुनपुर गाउँपालिकास्थित स्वास्थ्य कार्यालय दोस्रो भएका छन्।

उपलब्धिको कदरस्वरूप मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक नवलकिशोर झाले बौधिमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादव, नगर स्वास्थ्य संयोजक तारकेश्वर पटेल र सहसंयोजक राकेशप्रसाद यादवलाई सम्मानपत्र प्रदान गरेका थिए।

जनकपुरधामस्थित होटल बौवामा आयोजित प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको थियो। मन्त्रालय र स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशभरिका स्वास्थ्य संस्थाको वार्षिक गतिविधि, सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र उपलब्धिको समीक्षा गरिएको थियो।

स्वास्थ्य सेवामा थप सुविधा र विस्तार

नगरपालिकाका अनुसार स्थानीय सरकारको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्र विस्तार गर्नुका साथै उपचार तथा स्वास्थ्य परीक्षणका सुविधालाई पनि प्राथमिकता दिइएको छ।

केन्द्रले गर्भवती महिलाको नियमित परीक्षण, सुरक्षित प्रसूति, परिवार नियोजन, क्षयरोग नियन्त्रण, खोप अभियानलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गर्भवती महिलामा पोषणको अवस्था सुधार गर्न स्वास्थ्य परीक्षणका क्रममा अण्डा तथा प्रोटिनयुक्त खाद्य सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसैगरी, प्रसूति भएपछि आमा र नवजात शिशुलाई ७२ घण्टासम्म बर्थिङ सेन्टरमा राखेर स्वास्थ्य निगरानी तथा आवश्यक स्याहार प्रदान गरिन्छ। यस अवधिमा आमा र कुरुवाका लागि खानपान तथा बसोबासको सुविधासमेत मिलाइएको छ।

त्यस्तै, आमा समूहका बैठक नियमित सञ्चालन गर्ने, सहभागीलाई खाजा उपलब्ध गराउने र गर्भवती महिलाको मासिक रूपमा हेमोग्लोबिन परीक्षण गर्ने अभ्यासलाई निरन्तरता दिइएको छ। नगरपालिकाले स्थानीय नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत सञ्चालन गरेको छ।

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै ‘ज्येष्ठ नागरिकसँग स्थानीय सरकार’ कार्यक्रममार्फत स्वास्थ्यकर्मी घरदैलोमै पुग्ने गरेका छन्। उक्त कार्यक्रमअन्तर्गत रक्तचाप, मधुमेह, उचाइ र तौल परीक्षणका साथै आवश्यकताअनुसार दिसा, पिसाब तथा मिर्गौलासम्बन्धी परीक्षण निःशुल्क गरिँदै आएको छ।

सामूहिक प्रयासबाट प्रदेशस्तरीय पहिचान

नगर स्वास्थ्य सहसंयोजक राकेशप्रसाद यादवले स्वास्थ्य केन्द्रको कार्यसम्पादनमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीचको समन्वयले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनका अनुसार दैनिक स्वास्थ्य परीक्षण, प्रसूति सेवा, गर्भवती जाँच, खोप, परिवार नियोजन, क्षयरोग नियन्त्रण तथा अन्य राष्ट्रिय स्वास्थ्य कार्यक्रमको कार्यान्वयनलाई मूल्याङ्कनको मुख्य आधार बनाइन्छ।

नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको संयुक्त प्रयासबाट स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको उनको भनाइ छ।

प्रदेशका १३६ स्वास्थ्य संस्थाबीच तेस्रो स्थान हासिल गर्नु नगरपालिकाका लागि गौरवको विषय भएको उल्लेख गर्दै उनले यस उपलब्धिले आगामी दिनमा अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप हौसला मिलेको बताए।

बौधिमाई प्राथमिक स्वास्थ्य केन्द्रले प्राप्त गरेको यो उपलब्धिले स्थानीय तहको सक्रियता, स्वास्थ्य पूर्वाधारको उपयोग र नागरिकमैत्री कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा समेत स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार गर्न सकिने सम्भावनालाई उजागर गरेको छ।-नेपाल परिवेश

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*