१५ वर्षमै क्रिकेट टोलीको कप्तान बने वैभव सूर्यवंशी
भारतका युवा क्रिकेटर वैभव सूर्यवंशीले मात्र १५ वर्षको उमेरमा बिहारको टी–२० क्रिकेट टोलीको कप्तानी गर्ने जिम्मेवारी पाएका छन्। बिहार क्रिकेट संघले सन् २०२६–२७ को सैयद मुस्ताक अली ट्रफीका लागि घोषणा गरेको टोलीमा उनलाई कप्तान नियुक्त गरिएको हो।
बिहार क्रिकेट संघले प्रतियोगिताका सुरुका दुई खेलका लागि १७ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको उपकप्तानमा सूरज कश्यपलाई चयन गरिएको छ।
प्रतियोगिताअन्तर्गत बिहारले नोभेम्बर १४ मा सौराष्ट्रसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्रा सुरु गर्नेछ। त्यस्तै, नोभेम्बर १६ मा रेलवे टोलीसँग दोस्रो खेल खेल्नेछ। दुवै खेल भारतको इन्दौरमा आयोजना हुनेछन्।
सानै उमेरमा राज्यको टी–२० टोलीको नेतृत्व गर्ने अवसर पाउनु वैभवका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। १५ वर्षमै सिनियर टोलीको कप्तानी पाउने उनको उपलब्धिले भारतीय क्रिकेटमा युवा प्रतिभाको चर्चा थप चुलिएको छ।









