मिर्चैयाबाट १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ, चालक फरार
सिरहाको मिर्चैयाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, नगद, मोबाइल, डिजिटल तराजु र मोटरसाइकलसमेत बरामद गरेको छ।
बिहीबार राति करिब ८ः१० बजे मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट संयुक्त प्रहरी टोली परिचालन भएको थियो।
प्रहरी टोलीले कटारी चोकबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २–००५ प ३००३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक भने मोटरसाइकल छाडेर फरार भएका थिए।
मोटरसाइकलको पछाडि सवार मिर्चैया नगरपालिका–५ निवासी २७ वर्षीय कृष्णकुमार यादव र कल्याणपुर नगरपालिका–४ निवासी २० वर्षीय सुरेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
खानतलासीका क्रममा कृष्णकुमार यादवको साथबाट प्लास्टिकसहित १३.०७ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिक हटाउँदा शुद्ध ब्राउन सुगरको तौल १०.३९ ग्राम रहेको बताइएको छ।
त्यसैगरी, उनीहरूको साथबाट नगद ४ हजार रुपैयाँ, दुई थान स्क्रिन टच मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद गरिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार बरामद लागूऔषध, नगद, मोबाइल, डिजिटल तराजु र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न भई फरार भएका मोटरसाइकल चालकको पहिचान तथा खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।









