मधेश प्रदेश सरकारबाट बाहिरिने तयारीमा नेकपा, चार मन्त्रीले राजीनामा दिने
मधेश प्रदेशमा नयाँ राजनीतिक सत्ता समीकरण बन्ने चर्चा चलिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार मन्त्रीले सरकारबाट बाहिरिने तयारी गरेका छन्।
नेकपा संसदीय दलको केहीबेरअघि बसेको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले जानकारी दिएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बसेको बैठकले यस्तो निर्णय गरेको बताइएको छ।
निर्णयअनुसार नेकपाका चार मन्त्रीले केहीबेरमै मधेश प्रदेश सरकारसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
मधेश प्रदेश सरकारमा नेकपाबाट अर्थमन्त्री तथा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग, पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा कार्यरत छन्।
गत असोज ३० गते नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसयता नेकपाले नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई साथ दिँदै आएको थियो।
सरकारले विश्वासको मत लिन अब आठ दिन मात्र बाँकी रहेको अवस्थामा नेकपाका मन्त्रीहरू बाहिरिने तयारीले मधेश प्रदेशको राजनीतिक समीकरण थप पेचिलो बनेको छ।
यसैबीच, नेकपा एमालेले मधेशमा जनता समाजवादी पार्टी (जसपा) र नेकपासहितको नयाँ सत्ता समीकरण बनेको दाबी गरेको छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले केन्द्रमा तीन दलका शीर्ष नेताबीच छलफल भएर नयाँ समीकरण बनेको दाबी गरेका छन्।
तर, जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भने उक्त दाबी सही नभएको भन्दै सामाजिक सञ्जालमार्फत असहमति जनाएका छन्। यद्यपि जसपाभित्र पनि नयाँ समीकरण निर्माणबारे चर्चा भइरहेको छ।
नेकपाका मन्त्रीहरूको सम्भावित राजीनामा र नयाँ राजनीतिक गठबन्धनको चर्चासँगै मधेश प्रदेश सरकारको भविष्यबारे अन्योल बढेको छ।









