रास्वपाभित्र पदको महत्त्वाकाङ्क्षा र दम्भ बढेको रविको टिप्पणी

कोल्हवी न्यूज
२०८३ कार्तिक २१, शुक्रबार १६:५० गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा सफलता हासिल गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा दम्भ बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले जनताले दिएको मतको सम्मान गर्न र शक्ति तथा पदको घमण्ड नदेखाउन कार्यकर्तालाई चेतावनी दिएका हुन्।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले पार्टी ठूलो हुँदैमा प्रहरी प्रशासन आफ्नो नियन्त्रणमा रहेको दम्भ देखाउनु गलत हुने बताए।

‘आज हामी ठूला पार्टी भयौँ, हाम्रा हातमा पुलिस र सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ। जनताले दिएको अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला,’ उनले भने।

विगतमा आफूहरूले भोगेका दुःख र राजनीतिक प्रतिशोधलाई आधार बनाएर अहिले निर्वाचन जितेपछि प्रहरी प्रशासनमाथि अनावश्यक दबाब दिन नहुने उनको भनाइ थियो। उनले बदलाको भावनाभन्दा जनताको विश्वासअनुसार काम गर्न कार्यकर्तालाई आग्रह गरे।

पार्टीभित्र बढ्दै गएको पद र अवसरप्रतिको महत्त्वाकाङ्क्षाप्रति पनि लामिछानेले असन्तुष्टि जनाए। सबैलाई सांसद र ठूला पद चाहिने तर वडा तहबाट चुनाव लड्न कोही तयार नहुने प्रवृत्ति देखिएको उनले बताए। सँगै संघर्ष गरेका साथीले पद प्राप्त गर्दा ईर्ष्या गर्ने र आपसी खिचातानी गर्ने व्यवहार त्याग्नुपर्नेमा उनको जोड थियो।

रास्वपाको छोटो राजनीतिक यात्रालाई संकेत गर्दै उनले जनताले पार्टीलाई सीधै आठौँ कक्षामा भर्ना गरिदिएको तर आफूहरूले सिक्नुपर्ने राजनीतिक संस्कार र पाठ अझै बाँकी रहेको उल्लेख गरे।

समाज र सञ्चारमाध्यमले देखाएका कमजोरीलाई स्वीकार गर्दै सुधार गर्नुपर्ने बताउँदै लामिछानेले आलोचना गर्ने सञ्चारमाध्यम र विश्लेषकलाई दोष दिनुभन्दा आफ्नो राजनीतिक व्यवहार र चरित्र सुधार्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*