बाराको चुरियामाईमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, एक गम्भीर घाइते

कोल्हवी न्यूज
२०८३ कार्तिक २१, शुक्रबार ०९:२२ गते

तस्बिर

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिकै कोइला बोकेको ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

बिहीबार साँझ करिब ५ः३५ बजे हेटौंडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौंडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास र पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादव घाइते भएका थिए।

दुर्घटनामा दासको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको थियो भने यादवको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई उपचारका लागि साँझ ६ः३० बजे जिल्ला अस्पताल हेटौंडा पुर्‍याइएको थियो। उपचारका क्रममा साँझ ६ः३९ बजे चिकित्सकले ईसीजी परीक्षण गर्दा पछाडि सवार निराजन यादवलाई मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक दासको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कमाने निवासी ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*