मधेशमा आयुर्वेद सेवा प्रवाहमा वीरगञ्ज पहिलो, बारा दोस्रो र सिरहा तेस्रो

कोल्हवी न्यूज
२०८३ कार्तिक २१, शुक्रबार ०९:१७ गते

मधेश प्रदेशका आठवटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा पर्साको वीरगञ्जस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय प्रदेशकै उत्कृष्ट घोषित भएको छ।

आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रम तथा सेवा प्रवाहका आधारमा गरिएको मूल्याङ्कनमा चिकित्सालयले ८७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

मूल्याङ्कनको नतिजाअनुसार ६१ अंकसहित बारा दोस्रो र ५१ अंक प्राप्त गर्दै सिरहा तेस्रो स्थानमा रहेका छन्। आठवटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबीच भएको प्रतिस्पर्धामा वीरगञ्जले उल्लेखनीय अग्रता हासिल गरेको हो।

प्रदेशमै उत्कृष्ट नतिजा ल्याएपछि प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जका प्रमुख डा. शिवनारायण गुप्ता सम्मानित भएका छन्। उनलाई मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवले सम्मान गरेका हुन्।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालयले जनकपुरधामस्थित होटल पौवामा आयोजना गरेको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको थियो।

गोष्ठीमा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाहको अवस्था, निर्धारित लक्ष्यअनुसारको प्रगति तथा समग्र कार्यसम्पादनबारे समीक्षा गरिएको थियो।

८७ अंकसहित प्रदेशकै पहिलो स्थान हासिल गर्नु वीरगञ्जस्थित चिकित्सालयका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। यस उपलब्धिले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको प्रभावकारी व्यवस्थापन, कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहमा संस्थाले गरेको प्रयासलाई प्रतिबिम्बित गरेको छ।-नेपाल परिवेशबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*