मधेश प्रदेशमा सत्ता समीकरण फेरिँदै, तीन दलबीच सहकार्यको संकेत
बारा/मधेश प्रदेशमा सत्ता परिवर्तनको चर्चाबीच तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच पुनः संवाद र सहकार्यको संकेत देखिएको छ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजनीतिक संकटमा परेको मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको भविष्यबारे नयाँ बहस सुरु भएको छ।
तीन दलका नेताहरूबीच बढेको संवाद र राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रमले मधेश प्रदेशको सत्ता समीकरणलाई समेत प्रभावित पारेको देखिएको छ। पछिल्लो राजनीतिक गतिविधिले वर्तमान सरकारलाई निरन्तरता दिने सम्भावनाबारे चर्चा बढाएको छ।
गत असोज ३० गते एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मधेश प्रदेशमा सरकार परिवर्तनको अड्कलबाजी सुरु भएको थियो। तीनदलीय गठबन्धनबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अप्ठ्यारोमा परेको थियो।
तर, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता तथा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूबीच भएको संवादले राजनीतिक परिस्थितिमा नयाँ मोड ल्याएको छ।
कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि तीन दलबीचको सम्बन्धमा सुधार आएको चर्चा भइरहेका बेला त्यसको प्रभाव मधेश प्रदेशको राजनीतिमा समेत देखिन थालेको छ।
यसको पछिल्लो उदाहरण काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा देखिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीचको खेल अवलोकन गर्न पुगेका तीन दलका मधेश प्रदेश संसदीय दलका नेताहरू एउटै मञ्चमा देखिए।
मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराईको संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
विश्वासको मतपछि सरकारको भविष्य टुंगिने
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकारको संवैधानिक अवस्थाबारे प्रश्न उठेको छ। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
मुख्यमन्त्री यादवले भने अहिलेसम्म विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छैनन्। तीन दलबीच सहकार्यको वातावरण बनेपछि विश्वासको मत लिने तयारी भइरहेको बताइएको छ।
स्रोतका अनुसार काठमाडौं भ्रमणबाट फर्किएलगत्तै मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। त्यसका लागि आवश्यक राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।
वर्तमान सरकारलाई निरन्तरता दिने सहमति बनेमा एमाले पुनः सरकारमा सहभागी हुन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ। सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू परिवर्तन गरी नयाँ अनुहार पठाउने विषयसमेत राजनीतिक वृत्तमा चर्चामा छ।
यद्यपि, तीन दलका नेताहरूबीच देखिएको संवाद र संयुक्त उपस्थितिले मात्रै सरकारको भविष्य सुनिश्चित गर्दैन। प्रदेशसभामा विश्वासको मत प्राप्त भएपछि मात्रै सरकारको राजनीतिक अवस्था स्पष्ट हुनेछ।
रोचक पक्ष के छ भने, तीन दलका नेताहरू एउटै मञ्चमा बसेर समर्थन गरेको जनकपुर बोल्ट्स भने लुम्बिनी लायन्ससँगको खेलमा पराजित भयो। क्रिकेट मैदानमा जनकपुरले हार बेहोरे पनि त्यही मैदानमा देखिएको राजनीतिक भेटघाटले मधेश प्रदेशको सत्ता राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।
अब मधेश प्रदेशको राजनीतिक चासो मुख्यमन्त्रीले लिने विश्वासको मत, तीन दलबीचको सहमति र एमालेको सम्भावित पुनरागमनमा केन्द्रित भएको छ।









