भन्सार छलीका ५ थान आइफोनसहित एक जना पक्राउ
हेटौँडा, कात्तिक १९ । मकवानपुर प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएका पाँच थान आइफोनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार बिहान करिब ११ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा प्रहरीले जाँच गर्ने क्रममा उक्त आइफोन बरामद गरेको हो।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सुमो चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ निवासी २७ वर्षीय विक्की कुमार साहको साथबाट बिलबिजक नभएका पाँच थान आइफोन–१३ फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।









