श्रीमानको छुरा प्रहारबाट बाराकी २५ वर्षीया महिला गम्भीर घाइते, आरोपी पक्राउ
बारा । बारामा श्रीमानको छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। घटनापछि फरार भएका आरोपी श्रीमानलाई प्रहरीले वीरगञ्जको एक होटलबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कात्तिक १७ गते बिहान करिब १०ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरकी २५ वर्षीया गुल्सान अंसारीमाथि उनका श्रीमान् २८ वर्षीय अलियास अंसारीले छुरा प्रहार गरेका हुन्।
प्रहरीका अनुसार अलियासले श्रीमतीलाई ससुराली घरनजिकैको आँपबारीमा बोलाएर कुराकानी गर्ने क्रममा घरायसी विवाद भएपछि पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका थिए। घटनापछि उनी फरार भएका थिए।
गम्भीर घाइते गुल्सानलाई उपचारका लागि सुरुमा नारायणी अस्पताल पर्सा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर लगिएको र शल्यक्रियापछि हाल आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
फरार रहेका अलियासलाई कात्तिक १९ गते बिहीबार दिउँसो करिब १ बजे अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।









