बारामा हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड वितरण सुरु
बारा । जिल्ला हुलाक कार्यालय बाराले सेवाग्राहीको घरदैलोसम्म सेवा पुर्याउने उद्देश्यले नेपाल टेलिकमको सिमकार्ड वितरण सुरु गरेको छ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको समझदारीअनुसार हुलाक कार्यालयमार्फत सिमकार्ड वितरण थालिएको हो।
यसैक्रममा बिहीबार बाराको सिम्रौनगढ नगरपालिका–१ निवासी नेहा कुमारी ठाकुरलाई हुलाक सेवामार्फत नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरिएको छ।
जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीका अनुसार यस सहकार्यले सर्वसाधारणलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्नेछ।
यस व्यवस्थाअन्तर्गत नागरिकले नेपाल टेलिकमका सिमकार्डका साथै राहदानी, शैक्षिक प्रमाणपत्रलगायत महत्त्वपूर्ण कागजात तथा सामग्री पनि हुलाक सेवामार्फत घरमै मगाउन सक्नेछन्।
सरकारको शासकीय सुधार कार्ययोजनाअनुसार सुरु गरिएको यस सेवाले सेवाग्राहीको समय र यातायात खर्च बचत गर्ने अपेक्षा गरिएको छ।
हुलाक सेवामार्फत सरकारी तथा सार्वजनिक सेवालाई थप नागरिकमैत्री, प्रभावकारी र सर्वसाधारणको पहुँचयोग्य बनाउन सहयोग पुग्ने जिल्ला हुलाक कार्यालय बाराले जनाएको छ।









