तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै
नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी र चाँदीका विशेष सिक्का बिक्री सुरु गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलबाट दुई दिनसम्म सिक्का बिक्री गरिनेछ ।
राष्ट्र बैंकका अनुसार आज र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणले सुन तथा चाँदीका सिक्का खरिद गर्न सक्नेछन् ।
तिहारमा सुनचाँदीका धातु तथा सिक्का खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक मान्यताका कारण हरेक वर्ष राष्ट्र बैंकले यस्ता सिक्का बिक्री गर्दै आएको छ ।
यस वर्ष चाँदीका लक्ष्मी, गजलक्ष्मी र गणेश अंकित सिक्कासँगै सुनको असर्फीसमेत बिक्री गर्न लागिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार यसपटक वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी त्यसबाट असर्फी तयार गरिएको हो । गत वर्ष भने सुनको अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरिएको थियो ।
सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न पाउनेछन् ।
सुन तथा चाँदीको सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ । सिक्का निर्माणमा लागेको लागतसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही बढी रकम तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
सिक्का खरिद गर्न इच्छुक व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा पहिचान खुल्ने अन्य आधिकारिक प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।









