कात्तिक १९ र २० गते राष्ट्र बैंकबाट सुनचाँदीका सिक्का बिक्री हुने
नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने तयारी गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले कात्तिक १९ र २० गते दुई दिन सर्वसाधारणका लागि यी सिक्का बिक्री गर्न लागेको हो।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। बिक्रीका लागि आउने ग्राहकले प्रतिव्यक्ति २.५ ग्राम तौलको एउटा सुनको असर्फी खरिद गर्न पाउनेछन्।
त्यस्तै, १० ग्राम तौलका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि उपलब्ध हुनेछन्। एक व्यक्तिले लक्ष्मी र गणेशको एक–एक थान गरी बढीमा दुईवटा मेडालियन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार मौज्दात रहेसम्म लाइनमा उपस्थित हुने सेवाग्राहीलाई प्राथमिकताका आधारमा सिक्का बिक्री गरिनेछ। खरिद गर्न चाहने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर स्पष्ट खुलेको अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपिसहित आफैँ उपस्थित हुनुपर्नेछ।
सिक्का तथा मेडालियन खरिदको भुक्तानी नगद वा क्युआरमार्फत गर्न सकिनेछ। सुन तथा चाँदीको मूल्य दैनिक बजारदरअनुसार निर्धारण हुनेछ। हरेक दिन बिहान करिब ११ बजे मूल्य निर्धारण भएपछि मात्र बिक्री सुरु गरिने राष्ट्र बैंकले जनाएको छ।









