स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा कलैयामा टी–२० क्रिकेट प्रतियोगिता हुँदै
बारा । स्वर्गीय युवा नेता सुजित कुमार पाण्डेको स्मृतिमा बाराको कलैयामा टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। युवालाई खेलकुदमार्फत एकताबद्ध गर्दै स्वर्गीय पाण्डेको योगदानको स्मरण गर्ने उद्देश्यले ‘सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता–२०८३’ सञ्चालन गर्न लागिएको हो।
‘खेलकुदले जोड्छ, युवाले बदल्छ कलैया–१४’ भन्ने नारासहित युथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
आयोजकका अनुसार स्वर्गीय पाण्डे समाजका सक्रिय र ऊर्जाशील युवा व्यक्तित्व थिए। उनले सामाजिक विकृति तथा बेथितिविरुद्ध आवाज उठाउँदै युवालाई नेतृत्व प्रदान गर्दै आएका थिए। उनको सामाजिक योगदान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समितिले जनाएको छ।
प्रतियोगिता आगामी कात्तिक २३ गतेदेखि सुरु हुनेछ। कलैया उपमहानगरपालिका–१४ स्थित भौरा टोलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेल बिहान ८ बजे सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीय बासिन्दा तथा सरोकारवालालाई उपस्थित भई खेल अवलोकन गर्न र खेलाडीको हौसला बढाउन आयोजक समितिले आग्रह गरेको छ।
प्रतियोगिताले स्थानीय युवाको खेल प्रतिभा उजागर गर्नुका साथै खेलकुद संस्कृतिको विकास र स्वर्गीय पाण्डेको योगदानको स्मरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।









