बारामा घाँस काट्न रुख चढेका ६४ वर्षीय वृद्धको लडेर मृत्यु

कोल्हवी न्यूज
२०८३ कार्तिक १९, बुधबार १३:२८ गते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा घाँस काट्न चढेका ६४ वर्षीय ज्ञानबहादुर थिङको लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आज बिहान रुखमा चढेर घाँस काट्ने क्रममा अचानक लड्दा थिङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जन प्रसाद कुर्मीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा पाँच जनाको टोलीसमेत खटिएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*