रौतहटको गौरमा गोली चल्यो, एक युवकको अवस्था गम्भीर
रौतहट । रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। पानी ट्यांकी नजिकै गएराति भएको घटनामा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।
प्रहरीका अनुसार राति करिब ९ः१५ बजे यादवमाथि पेस्तोलबाट गोली प्रहार भएको थियो। गोलीका छर्रा लागेर उनको ढाड, दाहिने पाखुरा तथा दुवै खुट्टामा चोट लागेको छ। शरीरका विभिन्न भागमा गरी ६ वटा छर्रा लागेको बताइएको छ।
घटनापछि यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरीले ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला पारेको छ। गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको जनाएको छ।









