पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, १६ वर्षमाथिका नागरिकलाई नयाँ नियम
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा लिन आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ।
स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र नम्बर पेस गर्नुपर्नेछ। यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सरकारले सबै स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक १६ गते परिपत्र जारी गर्दै स्थानीय तहलाई बीमित परिवारको विवरण अद्यावधिक गर्न तथा नयाँ व्यवस्थाबारे नागरिकलाई जानकारी गराउन आग्रह गरेको हो।
बोर्डका अनुसार यसअघि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नगराएका बीमितले पनि एचआईबी ई–पोर्टलमार्फत आफ्नो विवरण अद्यावधिक गरी स्वास्थ्य बीमा सेवा लिन सक्नेछन्।
यद्यपि, १६ वर्षभन्दा कम उमेरका बालबालिका तथा अति अशक्त अपाङ्गता भएका नागरिकका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने बोर्डले स्पष्ट पारेको छ।
सरकारले स्वास्थ्य बीमा सेवालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गर्न लागेको जनाएको छ।









