पहिलो तीन महिनामै नेपालबाट २ अर्ब २० करोडको जुस निर्यात

कोल्हवी न्यूज
२०८३ कार्तिक १८, मंगलवार १६:०६ गते

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालबाट २ अर्ब २० करोड रुपैयाँभन्दा बढी मूल्यको जुस निर्यात भएको छ। साउनदेखि असोजसम्मको अवधिमा नेपालले विभिन्न मुलुकमा २ करोड २६ लाख लिटरभन्दा बढी जुस निर्यात गरेको हो।

भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात हुँदा २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको छ। नेपाली जुसको सबैभन्दा ठूलो बजार भारत रहेको छ भने चीन र जापानमा पनि केही परिमाणमा निर्यात हुने गरेको छ।

नेपालबाट सबैभन्दा बढी मिक्स जुस निर्यात भएको छ। तीन महिनामा १ अर्ब ४३ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यको १ करोड ५७ लाख ५६ हजार लिटर मिक्स जुस निर्यात भएको छ। यसको अधिकांश हिस्सा भारत गएको छ।

मिक्स जुसपछि सुन्तला र भुइँकटहरको जुस बढी निर्यात भएका छन्। समीक्षा अवधिमा ३५ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सुन्तलाको जुस र २२ करोड १३ लाख रुपैयाँभन्दा बढीको भुइँकटहरको जुस निर्यात भएको छ। यी दुवै प्रकारका जुस भारतमा मात्रै निर्यात भएका हुन्।

यसैगरी नेपालबाट स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि निर्यात हुने गरेको छ। तीन महिनामा १६ करोड ८५ लाख रुपैयाँभन्दा बढीको स्याउको जुस, १ करोड ५२ लाख रुपैयाँभन्दा बढीको ग्रेपफ्रुट जुस र १ करोड २५ लाख रुपैयाँभन्दा बढीको गोलभेँडाको जुस निर्यात भएको विभागको तथ्यांक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*