देउसी–भैलोको झल्को बोकेको ‘देउसिरे भन’ बजारमा
मकवानपुर। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गर्दै गायक तथा नायक विक्रम लुङ्वा र गायिका रिस्ता थापाको स्वरमा नयाँ गीत ‘देउसिरे भन’ सार्वजनिक भएको छ। चाडपर्वको सांस्कृतिक महत्त्व, देउसी–भैलोको परम्परा र तिहारको उल्लासलाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले गीत सार्वजनिक गरिएको हो।
ओपेरा डिजिटलमार्फत सार्वजनिक भएको गीतमा विक्रम लुङ्वा र रिस्ता थापाले स्वर दिएका छन्। गीतका शब्दसमेत विक्रम लुङ्वाकै रहेका छन्। गीतमा तुलसी गौतमले संगीत दिएका छन् भने थप संगीत संयोजन विक्रम लुङ्वाले गरेका छन्।
राजु खड्काले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका हुन्। तिहारको मौलिक संस्कृति र देउसी गाउने परम्परालाई समेटेर तयार पारिएको गीतले चाडपर्वको माहोललाई थप रमाइलो बनाउने अपेक्षा गरिएको छ।
पछिल्लो समय नेपाली कलाकारहरूले चाडपर्वलाई लक्षित गर्दै मौलिक संस्कृति र परम्परासँग जोडिएका गीत–संगीत सार्वजनिक गर्ने क्रम बढिरहेको छ। यसै क्रममा सार्वजनिक भएको ‘देउसिरे भन’ ले पनि तिहारको सांगीतिक रौनकमा नयाँपन थप्ने विश्वास गरिएको छ।









