नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
बडादशैँको धार्मिक उत्सवअन्तर्गत आज नवरात्रको छैटौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल षष्ठीका दिन विधिपूर्वक कात्यायनी देवीको पूजा गर्ने परम्पराअनुसार देशभरका घरघर तथा शक्तिपीठमा भक्तजनले श्रद्धापूर्वक पूजापाठ गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार कात्यायनी देवीलाई शक्ति, ऐश्वर्य र विद्याकी प्रतीकका रूपमा पूजा गरिन्छ। कात्यायन ऋषिकी पुत्रीका रूपमा अवतार लिएकाले उनको नाम कात्यायनी रहन गएको पौराणिक विश्वास छ। दानवको संहार गर्ने शक्तिशाली स्वरूपकी देवीको आराधना गर्नाले मनोकामना पूरा हुने र सुख, समृद्धि प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ।
घटस्थापनासँगै सुरु भएको नवरात्रमा यसअघि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाता देवीको पूजा गरिसकिएको छ। नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती तथा देवी भागवत पाठ गरी नवदुर्गाको आराधना गर्ने चलन छ।
यस अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली र शोभाभगवतीलगायत मन्दिरमा भक्तजनको उपस्थिति बढेको छ। उपत्यकाबाहिरका मनकामना, पलाञ्चोक भगवती, बागलुङ कालिका, पाथीभरा, छिन्नमस्ता र विन्ध्यवासिनीलगायत शक्तिपीठमा पनि भक्तजनले पूजा आराधना गरिरहेका छन्।










